
काठमाडौं, असोज २१ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको आयोगको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको हो ।
कार्यतालिकाका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न सकिनेछ । दल दर्ताका लागि इच्छुक सरोकारवालाले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले जनाएको छ । आयोगले आफ्नो प्रेस विज्ञप्तिमा निर्वाचन तालिकाको लागि राजनीतिक दल र सरोकारवालाहरूसँग बारम्बार परामर्श र समन्वय गर्ने बताएको छ ।
पहिलो हुने निर्वाचित प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने समानुपातिक प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना हुनेछ । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ तोकिएको छ । निर्वाचन प्रचारप्रसारको समय फागुन ३ देखि १८ गतेसम्म निर्धारण गरिएको छ, त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।
मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलनपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।