
काठमाडौं, असोज २८ । हमासमा मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई हस्तान्तरण गरेको छ । सोमबार राति हमासले रेडक्रस मार्फत जोशी सहित चार बन्धकहरूको शव हस्तान्तरण गरेको टाइम्स अफ इजरायलले रिपोर्ट गरेको हाे ।
उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । विपिनको भनिएकाे शव डिएनए परिक्षणपछि मात्रै पुष्टि हुने भएकाले सैनिक अस्पतालमा डिएनए परिक्षण गरिने र रिपोर्ट आएपछि इजरायली सरकारले नै नेपाल पठाइदिने राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।
सोमबार बिहान इजरायलको प्रधानमन्त्री कार्यालय, सेना तथा अन्य अधिकारीहरूले आधिकारिक रूपमा इजरायलस्थित नेपाली दूतावासलाई जोशी जीवित नरहेको जानकारी गराएका थिए । यसअघि बन्धकहरूलाई रिहा गरिएको दिनसम्म बिपिन जोशीको स्थिति अज्ञात थियो । इजरायलले पहिले जोशीको मृत्युको पुष्टि गरेको थिएन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिन २०८० भदौकाे अन्त्यतिर कैलालीको टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थी समूहको रूपमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । अक्टोबर ७, २०२३ मा, हमासले इजरायलमा आक्रमण गर्यो । किबुट्ज क्षेत्रको एक कृषि फार्ममा सत्र जना नेपाली विद्यार्थीहरू बसिरहेका थिए । जब आक्रमणकारीहरूले हमला गरे, विपिन त्यहीँ सुरक्षित कोठातर्फ दौडिरहेका थिए, आक्रमणकारीहरूकाे हमलामा दस जना नेपाली मारिए, केही घाइते भए, केही भागेर बाँच्न सफल भए, केही उद्धार गरिए तर विपिन हराए । हमासका लडाकुहरूले प्रहार गरेको ग्रेनेडबाट आफ्ना साथीहरूलाई जोगाउन खोजेपछि जोशीलाई गाजामा बन्धक बनाइएको बताइएकाे छ ।
त्यसपछि महिनौँसम्म कुनै खबर आएन । उनको परिवार र सम्पूर्ण नेपाली समुदायले खोजिरह्यो । नेपाल सरकार, इस्रायली अधिकारीहरू, मानवअधिकार संस्थाहरू, सञ्चार माध्यम सबैले प्रयास गरे, तर उनको अवस्था पत्ता लाग्न सकेको थिएन । विपिनको परिवार निरन्तर प्रतीक्षामा बसे । उनकी आमा र बहिनीले निरन्तरअपिल र समर्थन कार्यक्रमहरू चलाइरहेका थिए । नेपाली दूतावास र परराष्ट्र मन्त्रालय इस्रायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहे । पत्रकार सम्मेलन, अन्तर्राष्ट्रिय अपिल र मिडिया अभियानहरूले विपिनको नाम जिउँदो नै राखे । नोभेम्बर २०२३ मा गाजास्थित एक अस्पतालको भिडियोमा विपिनसँग मिल्दोजुल्दो एक व्यक्ति देखिएको दाबी गरिएपछि आशाको झिल्को पल्किएको थियो । तर त्यो दाबी कहिल्यै पुष्टी हुन सकेन ।
तर सोमबार अक्टोबर १३ मा एउटा पीडादायी सत्य घोषणा गरियो । इजरायल र हमासबीच भएको सहमतिको आधारमा मृतक बन्धकहरूको सूची सार्वजनिक गरियो, र त्यस सूचीमा विपिन जोशीको नाम पनि समावेश थियो । इजरायली सैन्य अधिकारीहरूले आधिकारिक रूपमा इजरायलस्थित नेपाली दूतावासलाई जोशी अब जीवित नरहेको पुष्टि गरे । बीचबीचमा आएका “उनी जिउँदाे हुन सक्छन्” भन्ने कुराहरू यथार्थमा परिणत भएनन् । उनी अब एक राष्ट्रको सामूहिक पीडाको प्रतीक बनेका छन् । उनी जिउँदाे फर्किने सारा नेपालीकाे आशा एउटा गहिरो पीडामा बदलिएकाे छ ।
जोशीको मृत्यु पुष्टि भएसँगै, हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीहरूको कुल संख्या ११ पुगेको छ ।