Kath Khabar
मिराज ढुंगानाले खोल्ने भए नयाँ राजनीतिक पार्टी

                        काठमाडौं, असोज ३१ । जेनजीका अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी गठन गर्ने योजना घोषणा गरेका छन् । 

शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उनले राजनीतिक दल गठन गर्ने घोषणा गर्दै यसका लागि आवश्यक राय सुझाव लिन वार्ता टोलीसमेत गठन गरेको जानकारी दिएका छन् । ‘गरिखान देउ’ अभियानमार्फत् नै नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन् । उनी यस अभियानका संयोजक हुन् ।

जेनजी आन्दोलनपछि देशमा नयाँ अवसर आएको त्यसका लागि राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था आएको उनको भनाइ छ । यद्यपि, उनले वर्तमान अवस्थामा पार्टीले चुनावमा भाग नलिने कुरा पिन प्रष्ट पारेका छन् । “हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएसम्म, विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने अधिकारको ग्यारेन्टी नभएसम्म र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक स्तरको निकाय गठन नभएसम्म हामी चुनाव लड्ने छैनौं,”  उनले भने ।

ढुंगानाले मौलिक परिवर्तन ल्याउन शान्तिपूर्ण रूपमा काम गरिरहेको र पार्टी स्थापना गर्न वार्ता समिति गठन गरेको बताए । यस सन्दर्भमा  थप विवरणहरू प्रदान गर्न कात्तिक १ गते दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update