ललितपुर, कात्तिक १० । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा सुत्केरीको मृत्युलाई लिएर तनाव बढेपछि मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीमाथि पनि ढुंगामुढा र इँटा प्रहार भएको छ ।
गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती मिनाको ज्यान गएको आफन्तहरुले दाबी गरेका छन् ।
आज बिहान मृतकका आफन्त र शुभचिन्तकहरू अस्पताल बाहिर भेला भएर नाराबाजी गर्दै जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको माग गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । भीड बढ्दै जाँदा केही प्रदर्शनकारीहरूले अस्पताल भवनमा ढुङ्गा प्रहार गर्न थालेको बताइएको छ। अस्पताल अधिकारीहरूले विरोध प्रदर्शन हिंसात्मक भएपछि सुरक्षाको लागि प्रहरीलाई बोलाएको बताएका छन् ।
मृतक राईको परिवारले उनको मृत्युको निष्पक्ष अनुसन्धान र दोषी विरुद्ध कारबाहीको माग गरेका छन् ।

