काठमाडौं, कात्तिक १२ । दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले बुधबार मानव अधिकार आयोगसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन् । उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताएका छन् ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा यो अभियान हुने उनले बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने तर यदि कसैले बन्द उल्लंघन गर्ने, तोडफोड वा आगजनीजस्ता गतिविधि गरेमा त्यसको जिम्मेवारी अभियानले नलिने प्रष्ट पारेका छन् ।
सबै नेपाली नागरिकलाई मङ्सिर ७ गतेको आन्दोलनको लागि तयार रहन उनले आग्रह गरे ।

