Kath Khabar
बालुवाटारमा सरकार, दल र जेनजीहरुको त्रिपक्षीय बैठक हुँदै

                               काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीसँग छलफल गर्नको लागि प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएकी छन् । 

निर्वाचनको वातावरण बनाउनको लागि पहिलोपटक हुन लागेको त्रिपक्षीय छलफलमा  विभिन्न प्रमुख राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिहरू बैठकमा उपस्थित हुनेछन् । पहिलोपटक हुन लागेको उक्त छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहनेछन् ।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि, कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update