काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिइरहेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका विवरणहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकाे छ ।
प्रधानमन्त्रीका निजी सचिव प्रमुख आदर्श कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएकोले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा कसैको दबाब वा प्रभावमा गृहमन्त्री नहटाइने प्रष्टीकरण दिइएको छ ।
'मन्त्रिपरिषद्का सदस्यहरूको नियुक्ति र पदमुक्ति गर्ने अधिकार पूर्ण रूपमा प्रधानमन्त्रीकै अधिकारक्षेत्रभित्र पर्ने विषय हो, र यस्ता निर्णयहरू कुनै व्यक्तिको दबाब वा प्रभावमा परेर गरिँदैनन्', विज्ञप्तिमा भनिएको छ ।
“यो सरकार ‘जेन जेड’ आन्दोलनको जनमतअनुसार गठन भएको हो, र असामान्य राजनीतिक वातावरणबीच पदभार ग्रहण गरेका गृहमन्त्री अर्यालले आउँदो निर्वाचन (२०७७ साल फागुन २२ गतेका लागि निर्धारित) सहज वातावरणमा सम्पन्न गर्न, शान्ति–सुरक्षा कायम गर्न र सुरक्षासंस्थाहरूको मनोबल उच्च राख्न प्रतिबद्धतापूर्वक काम गरिरहनुभएको सबैलाई विदितै छ।” विज्ञप्तिमा भनिएको छ ।


