काठमाडौं, कात्तिक १६ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आइतबारदेखि पुनः सुरु भएको छ । सहरी विकास मन्त्री कुलमान घिसिङको टोलीले आजस्थानीय बासिन्दासँग छलफल गर्दै १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खोलिएको हो ।
सहरी विकास मन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन संकटका बीच बन्चरेडाँडा फोहर व्यवस्थापन स्थलको स्थलगत निरीक्षण गरेका थिए । उनले स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्दै विगतमा गरिएको माग र सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् । उक्त प्रतिबद्धतापछि रोकिएको फोहोर बञ्चरेडाँडामा फाल्न दिइएको छ । २०७९ जेठ २६ गते संघीय सरकार र काठमाडौँ महानगरपालिकासँग भएको १८ बुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ भएको भन्दै स्थानीयले केही दिनअघि फोहोर फाल्न रोक लगाएका थिए ।
काठमाडौं उपत्यकाबाट उत्पादन हुने फोहोर सिसडोल फोहर व्यवस्थापन स्थलको क्षमता अन्त्यतिर पुगेपछि बन्चरेडाँडालाई वैकल्पिक स्थलका रूपमा विकास गरिएको हो । तर विगतका वर्षहरूदेखि निरन्तर देखिएका चुनौतीका कारण उक्त क्षेत्रमा प्रभावकारी फोहर व्यवस्थापन हुन सकेको छैन । स्थानीय बासिन्दाहरूले वातावरणीय प्रदूषण, जलस्रोतमा पर्ने असर, स्वास्थ्य जोखिम तथा फोहर ढुवानीका कारण हुने सडक अवरोधबारे बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् ।
दैनिक करिब १५० भन्दा बढी फोहोरका गाडी बञ्चरेडाँडामा पुग्ने गरेका छन् । ल्याण्डफिल साइटले नुवाकोट र धादिङका स्थानीयवासीलाई प्रत्यक्ष रूपमा प्रभावित पारेको छ । एक अध्ययनले बन्चरेडाँडा क्षेत्रमा माटो र पानी प्रदूषण भएको देखाएको छ, जसले स्थानीय कृषिजन्य उत्पादनमा नकारात्मक असर पारेको उल्लेख गरिएको छ ।

