काठमाडौं, कात्तिक २४ । सरकारले दान बहादुर कार्कीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी बलको सर्वोच्च पद, प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदैछन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।
२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए ।
मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेर काम गरेको थियो ।

