काठमाडौं, कात्तिक २६ । दुर्गा प्रसाईँ नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ' महाअभियानले सरकारलाई २७ बुँदे माग पत्र बुझाएको छ ।
आज गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले २७ बुँदे मागपत्र बुझाएका हुन् । मागपत्रमा संविधान खारेजदेखि, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राजसंस्था पुनर्स्थापना सम्म छन् भने प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि राखेका छन् । बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाउने र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।
समूहले आफ्ना वैध मागहरू प्रति सरकारको ध्यानाकर्षण गराएको र वार्ता र विरोध कार्यक्रम दुवै एकैसाथ जारी रहने घोषणा गरेको बताए । अभियानले मंसिर ७ गतेदेखि देशव्यापी विरोध प्रदर्शन गर्ने योजना पनि घोषणा गरेको छ । सरकारले पहिले नै उनीहरूको माग सम्बोधन गरेमा विरोध प्रदर्शन फिर्ता लिइने स्पष्ट पारेका छन् ।
प्रसाईं आफैं उपस्थित नभएका उनको प्रतिनिधिमण्डलमा संगठन विभाग प्रमुख तिजेन्द्र प्रसाद रायमाझी, देवी प्रसाद संग्रौला र अभियानका अन्य सदस्यहरू समावेश थिए ।

