
काठमाडौं, भदौ ३ । बहुपति प्रथाको कथा ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक गरिएको छ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘टिजर’ बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।
हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्रमा उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरेको छ । ‘टुल्की’ले डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्लाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई समेटेको छ । प्रेमविवाह गरेर केटी माथिल्लो डोल्पा पुग्छिन्, संस्कारका नाममा घरका सबै भाइको जबर्जस्ती यौनप्यास मेटाउने माध्यम बनेपछि ‘टुल्की’मा बदलाको भावना आँउछ त्यसपछि सबै घरपरिवारको हत्याको बाटो रोज्ने कथावस्तुलाई चलचित्रले चित्रण गर्न खोजेको छ।
बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य कुनै पनि भाइले बिहे गर्नुपर्दैन भने तिनै महिलाबाट सबै भाइले सामूहिक सन्तान जन्माउने र घर गृहस्थी चलाइन्छ । नेपालमा अहिलेसम्म बनेका सबै चलचित्रभन्दा भिन्दै र फरक सन्देशमूलक रहेको निर्माण पक्षको दाबी छ ।
चलचित्रको निर्देशन तथा छायांकन देवजंग थापाले गर्नु भएको हो भने चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायतलगायतका कलाकारको अभिनय रहेको छ ।
‘ द पाल्म ग्रुपद्वारा’ निर्माण गरिएको चलचित्र टुल्कीका निर्माता भने शेखर लामा ,आर.पी कर्मचार्य हुनुहुन्छ।