काठमाडौ, असोज २ । सामाजिक कथानक फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागिपरेको छ । फिल्मका निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अबसरमा सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीमा शुभकामना ब्यक्त गर्दै आफूहरु फिल्म रिलिज गर्न आतुर रहेको बताउनुभएको छ ।
प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचारप्रसारलाई तीव्रता दिदै गर्दा ०७६ चैत्र ११ देखि भएको लक डाउनको मारमा परेको ‘हिजो आजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउने तयारीमा जुटेको छ । ‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौ । त्यसकारण हल संचालक, बितरकहरुसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्त भन्नुहुन्छ । ‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ । चलचित्र बिकास बोर्ड, हल संचालक, बितरक, दर्शक, सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि आफुहरु अघि बढ्न तयार रहेको उहाँ बताउनुहुन्छ । उहाँले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिनुभएको छ ।
‘हिजो आजका कुरा’ ०७७ बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोही अनुसार प्रचारप्रशार पनि सुरु भइसकेको थियो । तर, कोरोना भाइरसका कारण भएको देशब्यापी लकडाउनले गर्दा अझैसम्म पनि हलहरु संचालनमा आउन सकेका छैनन् ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सबिन शाक्य लगायतका कलाकारले अभिनय गरेका छन् ।
रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचित कुमार मिश्र रहनुभएको छ । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै दुई करोड ४० लाख पटक हेरिसकिएको छ ।