Kath Khabar
‘गोरखा’ मा खुकुरी लिएको नमिलेको टिप्पणीलाई अक्षयले भने, गल्ती सच्याउने छु
फिल्म ‘गोरखा’को पोस्टर

काठमाडौं, कार्तिक २ ।अभिनेता अक्षय कुमारले आफ्नो ट्विटरमार्फत् नयाँ फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक गर्नुभए सँगै त्यसमा त्रुटि देखाइएको छ । अक्षयको मुख्य अभिनय रहेको यो फिल्म युद्ध नायक मेजर जनरल इयान कार्डोजोको वास्तविक जीवनमा आधारित छ। अक्षयले गत शुक्रबार फिल्मको पोस्टर सेयर गरेलगत्तै एक जना पूर्व सैनिक अधिकारीले अक्षयले समातेको खुकुरीमा त्रुटी औंल्याएका थिए।

माज मणिक एम जोली नामका ती पूर्व सैनिक अधिकारीले पोस्टरमा खुकुरी गलत तरिकाले समातेको भन्दै अक्षयको ट्विटरमा टिप्पणी गरेका थिए।

पूर्व सैनिक अधिकारी जोलीले लेखेका थिए, ‘प्रिय अक्षयजी, पूर्व गोरखा सैनिक भएको नाताले यो फिल्म बनाउन लाग्नु भएकोमा म तपाईंलाई धन्यवाद भन्न चाहन्छु। तर, विवरण सधैंं सही हुनुपर्छ, त्यसैले कृपया खुकुरीलाई राम्रोसँग देखाइदिनु होला। यो तरवार होइन, यसको तेज धार भित्रपट्टि हुन्छ।’


ती पूर्व सैनिकको टिप्पणीमा अक्षयले गल्ती देखाइदिएकोमा धन्यवाद दिँदै यसलाई गम्भीरतापूर्वक सच्याउने बताएका छन्। ‘प्रिय मेजर मोलीजी, गल्ती औंल्याउनु भएकोमा धेरै धन्यवाद। फिल्म छायांकन गर्दा हामी यो कुरामा ध्यान दिनेछौं,’ अक्षयले भनेका छन्, ‘गोरखा फिल्म बनाउन पाउँदा म आफूलाई सम्मानित महसुस गरिरहेको छु। यो फिल्ममा वास्तविकता ल्याउन कुनै सुझाव दिनु हुन्छ भने हामी त्यसलाई कदर गर्नेछौं।’

गोरखा फिल्मको पोस्टरमा अक्षय सैनिक पोशाकमा खुकुरी समातेको देखिन्छ। अक्षयले अभिनय गर्ने लागेका पात्र मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धको बेला ग्यान्ग्रिन क्षेत्रको सुरक्षाका लागि आफ्नै खुट्टा काटिदिएका थिए।

‘कहिलेकाहीँ कुनै घटना यति प्रेरणादायक हुन्छन् कि त्यसबारे फिल्म बनाउन मन लागिहाल्छ। मेजर जनरल इयान कार्डोजोको जीवनबारे बन्न लागेको फिल्म गोरखा तीमध्ये एक हो,’ अक्षयले फिल्मको पोस्टर सेयर गर्दै ट्विट गरेका थिए, ‘उनको भूमिका अभिनय गर्न र यो विशेष फिल्म प्रस्तुत गर्न पाउँदा म उत्साहित छु।’

गोरखा फिल्म संजय पुरन सिंह चौहानको निर्देशन र आनन्द एल रायको निर्माणमा बन्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update