काठमाडौं, कात्तिक १०। कमेडी जनराको फिल्म ‘चुरीफुरी’ को ‘ओइ ओइ पियारी’ बोलको गीत सोमबार हाइलाइट्स नेपालको युट्युवमार्फत सार्वजनिक गरिएको छ। ऋषिराज आचार्य निर्देशित फिल्मको उक्त गीतमा समीर आचार्य र बेनीशा पौडेलको स्वर, दीपक शर्माको संगीत रहेको छ । निर्देशक आचार्य र संगीत शर्माको शब्द रहेको गीतको कोरियोग्राफी भिमफेदी गाइज्ले गरेको हो ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा गायक समीर र गायिका बेनीशाले गीत गाएर सुनाउनु भएको थियो । संगीतकार दीपकले गीतमा अहिलेको पुस्ताको समसामयिकता प्रस्तुत गरिएको बताउनुभयो । कार्यक्रममा निर्देशक आचार्यले ‘चुरीफुरी’ सामाजीक बिषयको हाँस्य प्रदान फिल्म भएको बताउनुभयो। उहाँले कोरोनाका कारण दिक्दार भएका दर्शकलाई आफ्नो फिल्मले भरपुर मनोरञ्जन दिने दावी गर्नुभयो । जुनीयर अनमोल केसीका रुपमा परिचीत अभिषेक श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्ममा रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुरवीर पण्डित, रश्मी भट्ट, पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठ, ऋतु आचार्य लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
संचारकर्मी लक्ष्मण सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा अभिषेकले आफूले बच्चैदेखि अभिनयमा करिअर बनाउने सपना बुनेको र पहिलो फिल्म स्वरुप ‘चुरीफुरी’ आउन लागेकोमा खुशी ब्यक्त गर्नुभयो । केही म्युजीक भिडियोमा अभिनय गर्नुभएको अभिषेकले यो फिल्मबाट दर्शकले आफूलाई अभिनेताका रुपमा समेत स्वीकार्ने बिश्वास ब्यक्त गर्नुभयो । यही फिल्मबाट डेब्यु गर्नुभएकी पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङले पनि आफूहरु फिल्मप्रति निकै आशावादी रहेको बताउनुभयो । फिल्मका अर्का कलाकार राजीवजंग बस्नेतले पनि दर्शकलाई ‘चुरीफुरी’ ले भरपुर मनोरञ्जन दिने दावी गर्नुभयो ।
बोर्ड अध्यक्ष दाहालले चलचित्र क्षेत्र चलायमान बनाउन आफूहरु लागीपरेको बताउदै अहिलेको अबस्थामा फिल्म प्रदर्शन गर्न तयार भएका निर्माताहरुलाई बोर्डले सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले सबैको साथ, सहयोग र हौसलाले मात्रै नेपाली फिल्म फेरि जुर्मुराउने बताउदै ‘चुरीफुरी’ लाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा फिल्ममा अभिनीत कलाकारहरु सुरवीर पण्डित (दारी बा), शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे) लगायतले पनि आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । उहाँहरु सबैले ‘चुरीफुरी’ ले फिल्म हेर्ने माहौल तताएर लग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
आरबी मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल रहनुभएको छ । राहुल राईले खिच्नुभएको फिल्मको सम्पादन नवीन निरौलाले गर्नुभएको हो । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सहनिर्माता रहेको फिल्मलाई डिसिएनले वितरण गर्नेछ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=QNgeKgxbh_0