Kath Khabar
डोल्पाका दुर्गम गाउँमा धमाधम ‘बुलाकी’  छायांकन

काठमाडौं, मंसिर १ । तिहार लगतै छायांकन सुरु गरिएको ‘बुलाकी’ फिल्मको ३५ प्रतिशत दृश्य खिचि सकिएको ( छायांकन) जानकारी प्राप्त भएको छ । डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ, लहरा लगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै युनिट काठमाडौंबाट डोल्पा पुगेको थियो ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहनुभएको छ । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतका कलाकार प्रमुख भूमिकामा रहनुभएको छ । इन्टरनेट तथा मोबाइल टावरको प्रचुर ब्यबस्था नभएको स्थानहरुमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनियाँमा पुगेजस्तो महसुस भइरहेको अनुभव नवअभिनेता बिराजले जानकारी दिनुभएको छ । ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’ आफू सुगम स्थानमा आएको मौका छोपी फोन गरेको बताउँदै उहाँले भन्नुभयो ‘हामीहरु अर्कै दुनियाँमा आएजस्तो महसुस भइरहेको छ ।’

अभिनेत्री सुरक्षाले केही दिनअघि भौगीलिक, सामाजीक तथा प्राकृतिक हिसावले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गर्नुभएको थियो । उहाँले धेरै कुरा लेख्न मन लागे तापनि नेट नहुदाँ असमर्थ भएको उल्लेख गर्नुभएको थियो ।

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिब ढकाल हुनुहुन्छ । से–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले,अमीत परियार लगायतको पनि अभिनय छ । सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्मको पूरा छायांकन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update