
काठमाडौं, वैशाख २४ । निर्धारित मितिलाई हेर्ने हो भने २८ चैत २०७६ मा नै ’प्रेमगीत ३’ फिल्म रिलिज हुनुपर्ने हो । तर, सोचेजस्तो सधैं कहाँ हुन्छ र ! कोरोना महामारी सुरु भएसँगै फिल्मको रिलिज रोकियो । एक वर्ष पार गरिसक्दा पनि फिल्मको रिलिज डेटबारे अन्योल कायमै छ ।
यसबीचमा फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनमा आफ्नो फिल्मलाई नेपालका सय हलमा मात्र सीमित नराख्ने सोच पलायो । उहाँलाई लाग्यो, ’मेरो फिल्मलाई भारतमा पनि रिलिज गर्छु ।’ सेनले फिल्मको ’सो रिल’ तयार गर्नुभयो, जसमा शिशिर वाङ्देलले आवाज दिनुभयो । त्यही बोकेर आफ्नैै फिल्मका हिरो प्रदीप खड्कासँग उहाँ मुम्बईतिर लाग्नुभयो ।
सन्तोष भन्नुहुन्छ ’भारतमा अन्य भाषाका फिल्महरू पनि हिन्दीमा डब भएर करोडौं कमाइरहेका छन् । हामीले सय करोड नकमाए पनि ५-७ करोड कमाउन सकिएला नि भन्ने लागेर भारतीय बजारमा फिल्म रिलिज गर्न लागेको हुँ ।’ तर, मुम्बईमा फिल्म रिलिज गर्न सजिलो पक्कै थिएन । उहाँले धेरैवटा वितरण कम्पनीहरूलाई ’शो रिल’ देखाउनु भयो । उनीहरूले वितरण गर्ने आश्वासन त दिए, मिनिमम् ग्यारेन्टी दिन सकेनन् । त्यहाँको प्रोडक्सनको सम्पूर्ण खर्च आफैंले गर्नुपर्ने भयो, जुन कुरा सन्तोषका लागि पटक्कै चित्तबुझ्दो थिएन ।
अन्ततः लामो संघर्षपछि सन्तोषले एउटा वितरण कम्पनी भेट्नुभयो, जसले उहाँलाई ४ करोड एमजी दिन तयार देखियो । सन्तोष भन्नुहुन्छ, ’पूर्ण फिल्म तयार गरेर दिँदा उहाँले ४ करोड एमजी दिने भएपछि हामीले काम सुरु गर्यौ ।’
सन्तोषले फिल्मको डबिङ सकाइसके । हलिउड, बलिउडदेखि साउथसम्मका धेरै हिट फिल्ममा डबिङ गरेका आर्टिस्टलाई लिएर उहाँले फिल्मको डबिङ गराउनु भएको छ । डबिङ आर्टिस्टले फिल्मको तारिफ गरेको सुन्दा दंग हुनुहुन्छ उहाँ । ’डबिङ गर्दा उहाँहरूले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ । फिल्मको कथा, कस्ट्युम, लोकेसनदेखि धेरै कुरा उहाँहरूले मन पराउनुभएको छ’, उहाँ भन्नुहुन्छ, ’धेरै भाषाको फिल्ममा डब गरिसकेका कलाकारले दिनुभएको यस्तो प्रतिक्रियाबाट म उत्साहित छु ।’
सेन हिन्दी डब भएपछि फिल्म नै अर्को स्तरमा पुगेको दाबी गर्नुहुन्छ ’हिन्दीमा डब भएपछि त फिल्म नै अर्कैजस्तो भएको छ ।’ अहिले फिल्मको साउण्ड तथा ब्याकग्राउण्ड स्कोरको काम भइरहेको छ । अक्षय कुमारको ’सूर्यवंशी’, सलमान खानको ’राधे’ जस्ता प्रतिक्षित बलिउड फिल्ममा काम गरेका प्राविधिकले सन्तोषको फिल्ममा काम गरिरहेका छन् । हिन्दी भाषाका लागि फिल्मको ट्रेलर ’सूर्यवंशी’ फिल्म सम्पादन गरिरहेका सम्पादकले काटिरहेका छन् ।
प्रविधिकहरूबाट पनि फिल्मबारे उत्साहजनक प्रतिक्रिया पाइरहेको सन्तोषले बताउनुभयो । उहाँले भारतमा रिलिज गर्ने होडमा तीन गुणा बढी लगानी गरीसक्नुभयो । तर, कामाइनेमा भने उहाँ त्यति विघ्न विश्वस्त हुनुहुन्न । सन्तोष भन्नुहुन्छ, ’भारतबाट त वितरकले दिएको एमजी उठाइदियो भने हुन्छ । अहिले नै ठूलो आशा केही छैन । तर, पछिल्ला फिल्महरूलाई यहाँ सहज रिलिज गर्ने बाटो बन्यो भने त्यसैलाई सफलता मान्नेछु ।’ फिल्म नै राम्रो बनेको खण्डमा राम्रो कमाइ गर्न सकिने विश्वास उहाँमा छ ।