Kath khabar
के हो सरोगेसी (surrogacy) ?


काठमाडौं, माघ ८। जब एक दम्पतीले अर्को महिलाको कोख भाडामा लिएर बच्चा जन्माउँछन्, यो प्रक्रियालाई सरोगेसी (कोख भाडामा दिने) भनिन्छ।

सरोगेसी कानुनी रुपमा बाँधिएको एउटा सम्झोैता हो। जहाँ कोख भाडामा दिने आमा र अर्को दम्पत्तीबीच सम्झोैता गरेर बच्चा जन्माउन राजी हुन्छन्, बच्चाको जन्म भइसकेपछि उक्त बच्चाप्रतिको उनको दायित्व समाप्त हुन्छ ।

विभिन्न कारणले मानिसहरूले यो तरिकाको प्रयोग गरेर बच्चा जन्माउने गर्छन्। अहिले धेरै सेलिब्रेटीहरूले यस प्रविधिको मद्धत लिएर अभिभावक बनेका छन्। सरोगेसीमा एक महिला आफ्नो वा डोनरको अण्डा मार्फत अर्को जोडीको लागि गर्भवती हुन्छ। सरोगेसी मार्फत अभिभावक बन्नुको पछाडि धेरै कारण छन् । जस्तै दम्पतीमा कुनै मेडिकल समस्या भएमा, महिलाको ज्यान जोखिममा पर्ने वा कुनै समस्या हुने वा महिला आफैले बच्चा जन्माउन नचाहेमा।

अर्काको बच्चालाई आफ्नो गर्भमा हुर्काउने महिलालाई सरोगेट आमा भनिन्छ। सरोगेसीका लागि सन्तान जन्माउन चाहने दम्पती र सरोगेट आमाबीच सम्झौता हुन्छ । यसअन्तर्गत गर्भावस्थाबाट जन्मिएका बच्चाका कानुनी अभिभावक सरोगेसी गर्ने दम्पती हुन्। सरोगेट आमालाई गर्भावस्थाको समयमा आफ्नो हेरचाह गर्न र चिकित्सा आवश्यकताहरूको लागि पैसा दिइन्छ ताकि उनले गर्भावस्थाको समयमा आफ्नो हेरचाह गर्न सकून्।

सरोगेसी दुई प्रकारका हुन्छन्। एउटा परम्परागत सरोगेसी, जसमा बुबा वा दाताको शुक्रकीट सरोगेट आमाको अण्डासँग मिलाइन्छ। यस सरोगेसीमा सरोगेट आमा जैविक आमा हो। र दोस्रो गर्भावस्था सरोगेसी जसमा सरोगेट आमा आनुवंशिक रूपमा बच्चासँग सम्बन्धित हुँदैन। अर्थात् गर्भावस्थामा सरोगेट आमाको अण्डा प्रयोग हुँदैन । यसमा सरोगेट आमा बच्चाको जैविक आमा हुँदैनन्।

उनले बच्चालाई मात्र जन्म दिएकी हुन्छिन् । यसमा बाबुको शुक्रकीट र आमाको अण्डा वा डोनरको शुक्रकीट र अण्डालाई टेस्ट ट्युबमा मिसाएपछि सरोगेट आमाको पाठेघरमा प्रत्यारोपण गरिन्छ । यो प्रक्रियाबाट बच्चा जन्म दिनु कतिपय देशमा कानुन सम्मत छ भने कतिपय देशमा यो गैरकानुनी छ। नेपालमा यो गैर कानुनी हो।

 

 

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update