Kath khabar
काठमाडौं उपत्यकामा सहरी पक्षीको सङ्ख्यामा वृद्धि
तस्विर: प्रताप गुरुङ्ग

काठमाडौं, माघ २१। काठमाडौँ उपत्यकामा पछिल्लो समयमा सहरी पक्षीको सङ्ख्यामा वृद्धि भएको छ । यस वर्षको जाडो मौसममा गरिएको ‘अर्बन बर्ड काउन्ट’ मा उपत्यकामा कूल छ हजार ७०१ चराको सङ्ख्या रेकर्ड गरिएको छ ।

गत वर्षको तुलनामा ९४७ सहरी पक्षीको सङ्ख्या वृद्धि भएको देखिएको हो । सन् २०२१ को गणनामा कूल पाँच हजार ७५४ सङ्ख्या रेकर्ड गरिएको थियो । नेपाल पक्षी संरक्षण सङ्घले सन् २०२२ को जनवरी १ देखि ८ सम्म उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिममा गरी कूल २४ योजनाबद्ध ‘ट्रान्जिट’ मा सहरी, उपनगरीय र ग्रामीण क्षेत्र गरी तीन क्षेत्रमा सहरी पक्षीको अवलोकन गरेको थियो । गणनामा मलेवा, घर काग, घर भँगेरा, घर गौंथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र वस्तु वा बकुल्लालगायत प्रजातिका चरा सबैभन्दा बढी पाइएको सङ्घका ‘पोलिसी एण्ड एडभोकेसी अफिसर’ किर्ती नेपालले जानकारी दिनुभयो ।

उपत्यकाको सहरी क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७६९ सङ्ख्याले वृद्धि भएको छ । गत वर्षको गणनामा सहरी क्षेत्रमा जम्मा एक हजार ९२६ चरा देखिएका थिए भने यसवर्ष दुई हजार ६९५ चरा फेला परेका छन् । यसैगरी ग्रामीण क्षेत्रमा पनि चराको सङ्ख्या २९० ले बढेको छ । ग्रामीण क्षेत्रमा सन् २०२१ मा एक हजार ५२५ चराको सङ्ख्याको तुलनामा यस वर्ष एक हजार ८१५ चराको अभिलेखीकरण भएको छ तर उपनगरीय क्षेत्रमा चराको सङ्ख्या २८८ ले घटेको देखिएको छ ।

गत वर्ष दुई हजार ३०३  सङ्ख्या रेकर्ड गरिएको थियो भने यस वर्ष त्यहाँ दुई हजार १५ सङ्ख्या रेकर्ड गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रम सङ्घले जाडो र गर्मी दुई मौसममा गर्नेछ। प्राप्त जानकारीले उपत्यकाको सहरी चराको सङ्ख्याको अवस्थाबारे स्पष्ट चित्रण गर्छ । यस यामको गणनामा ३५ भन्दा बढी सरोकारवाला व्यक्ति संलग्न रहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update