Kath khabar
नासाको टेलिस्कोपले खिचेको ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक


           वासिङ्टन, असार २८ । नासाले ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा अनौठो तस्विर खिचेको छ । संसारको सबैभन्दा ठूलो जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको सबैभन्दा गहिरो, स्पष्ट र सबैभन्दा रंगीन इन्फ्रारेड तस्विर खिचेको हो । यो पहिलो यस्तो तस्बिर हो, जसमा मानिसले बिग ब्याङ्गपछि निस्केको प्रकाशको अंशलाई तस्वीरमा कैद गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बिडेनले ह्वाइट हाउसमा जारी गरेको यो तस्बिरमा अनगिन्ती ताराहरू र हजारौं आकाशगंगाहरू देखिन्छन् । यो तस्विरमा हाम्रो सौर्यमण्डल बाहिरको विशाल ग्यासयुक्त ग्रह र नेबुलाका दुई तस्बिरहरू पनि छन् । नेबुला ताराहरू जन्मिने र मर्ने ठाउँ हो । यसबाहेक ५ वटा घना आकाशगंगाहरू पनि एक अर्काको वरिपरि देखिन्छन् ।

१० अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको यो तस्विरलाई ‘डिप फिल्ड’ नाम दिइएको छ । यो तस्बिर खिच्न टेलिस्कोपलाई १२.५ घण्टा लागेको थियो। यसले ब्रह्माण्डको छेउको बारेमा जानकारी प्राप्त गर्ने व्यक्तिलाई नयाँ दृष्टिकोण दिएको छ।

नासाको जेम्स वेब टेलिस्कोप संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोप हो। यसलाई गत वर्ष अमेरिकाको फ्रेन्च गुयानाबाट लन्च गरिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update