Kath khabar
अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

                    काठमाडौं, भदौ १९ ।  कोरोना कहरका कारण २ वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अस्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । आगामी यामका लागि अग्रिम बुकिङहरू आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

पछिल्ला समयमा अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि बस्न खान उपयुक्त सुविधा सम्पन्न पूर्वाधारहरू बनिरहेको बताउँदै उहाँले यहाँ आउने पर्यटक सहज रुपमा यस क्षेत्रको पदयात्रा गर्न सक्ने जानकारी दिनुभयो । ४ दशक अघिसम्म यस क्षेत्रको पदयात्रा गर्नका लागि यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सुविधा सम्पन्न होटेल बनेको र वर्षेनी पूर्वाधार थपिने क्रम बढीरहेको उहाँले जानकारी दिनुभयो । हाल सिनुवाभन्दा माथि नयाँ ७ वटा होटेल थपिइसकेका छन् भने अन्य ४ वटा बन्ने क्रममा छन् । 

अघिल्लो वर्षसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होेटल चलेकामा हाल ती स्थानमा होटलसहितका पूर्वाधार थपिएको पर्यटन व्यवसायी एवम् समाजसेवी ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार विगतमा प्रत्येक होटलमा ६ का दरले १ सय ५६ कोठा रहेका थिए ।

पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा होटलको क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले ४ वर्ष अघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो । गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थप लगायत विषयमा अध्ययन गरेको थियो । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

समुद्री सतहबाट ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशक पछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

कोरोना कहर अघिसम्म पर्यटकको राम्रो चाप हुने गरेको यस पदयात्रा मार्गमा आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा गरिएको छ । उक्त क्षेत्रका पर्यटन व्यवसायी पनि पदमार्गलाई थप व्यवस्थित गर्नेतर्फ सक्रिय बनेका छन् । स्थानीय सक्रियतामा पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई जोड दिँदै पदमार्ग क्षेत्रको दोभान र हिमालयको बीचमा पूजनीयम बराहको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको सचिव गुरुङले जानकारी दिनुभयो ।

अन्नपूर्ण पदमार्ग क्षेत्र र यहाँ आउने पदयात्रीलाई पुजनीम् बराहले रक्षा गर्ने विश्वासका साथ पदयात्रामा जाँदा र आउँदा फूल चढाएर हिड्ने प्राचीन परम्परा कायमै छ । कठिन भौगोलिक अवस्थितिमा समुद्री सतहबाट २ हजार ८ सय मिटर उचाइमा रहेको यहाँको मन्दिर निर्माणका लागि हालसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । सेप्टेम्बर १५ बाट सुरु हुने यामका लागि अग्रिम बुकिङ फाट्टफुट्ट आउन थालेको ट्रेकिंग एजेन्सिज एशोसिएसन (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशिलराज पौडेलले जानकारी दिनुभयो ।

आगामी दिनमा पर्यटनमा सकारात्मक आशा पलाए पनि बाटोघाटो तथा पर्यटकको बसाइ लम्ब्याउन सक्ने किसिमका पूर्वाधारको अझै कमी रहेको उहाँले बताउनुभयो । विग्रे भत्केका सडक मार्गका साथै हवाइ उडान मार्ग सहज तथा सुलभ बन्न नसक्नु आदि अझै पनि चुनौतीका रुपमा रहेको उहाँको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update