Kath khabar
४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर


                  काठमाडौं,  मंसिर १०।  चालु आर्थिक वर्षको ४ महिना अर्थात् साउनदेखि कात्तिकसम्म १,००० वटा भन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म १ हजार १८ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका हुन् ।

गएको आर्थिक वर्षमा कुल १८ सय ७ वटा विद्युतीय गाडी भित्रिएकोमा यो वर्ष ४ महिनामै १ हजार १८ वटा गाडी आयात भएका हुन् । गत वर्षको पहिलो ४ महिनामा जम्मा ६ सय ७३ वटा विद्युतीय गाडी आयात भएका थिए ।

विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्दै सरकारले पेट्रोल र डिजलबाट चल्ने निजी प्रयोजनका गाडी आयातमाा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीको आयात बढेको हो । यस्तै सरकार र निजी क्षेत्रले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनाइरहेको, गाडी चार्जमा  विद्युत् महशुल शुल्क पनि घट्दै गएको र डिजल तथा पट्रोलको भाउ बढिरहेकाले विद्युतीय गाडीको प्रयोग बढिरहेको छ ।

नेपालमा साधारणतया ३० देखि ८० लाख रुपैयाँसम्मका विद्युतीय गाडी खरिद बिक्री हुने गरेका छन् । तर टेस्ला, हुन्डाई, एमजी लगायतका कम्पनीका केहि मोडलका गाडीको मूल्य भने १ करोड रुपैयाँ भन्दा धेरै रहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update