Kath khabar
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै


                  काठमाडौँ, मंसिर १९।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन पछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा लगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए। गठबन्धनका शीर्ष नेता सहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ।

पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन्।

यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४, राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएका छन्। यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update