Kath khabar
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा

 

                            काठमाडौं, मंसिर २१ ।  पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल १६ वर्षपछि अन्तिम ८ मा पुगेको हो ।

पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले १-१ गोल थपे भने स्विट्जरल्यान्डका मानुएल एकान्जीले १ गोल फर्काए ।

खेलको १७ औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए, ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडर मार्फत उत्कृष्ट गोल गरे ।

५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो । उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे । खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए । राफायलले रामोसको पासमा गोल गरे ।

५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए । खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए ।

जोआ फेलिक्सको पासमा गोल गर्दै रामोसले ह्याट्रिक पूरा गरेका हुन् । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।

त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए । अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । मोरक्क्कोले स्पेनलाई हराएर अन्तिम ८ मा पुगिसकेको छ ।

विश्वकप १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। २०१८ मा नकआउट चरणबाटै बाहिरिएको पोर्चुगल यो संस्करण विश्वकप उचाल्ने दाउमा छ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update