Kath khabar
काठमाडौ उपत्यकामा सवारी चलाउनेका लागि आयो कडा नियम


                          काठमाडौं, मंसिर २१ ।  जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले मुद्दा चलाउन थालेको छ। कारबाही मात्रै गरेर छोड्ने गरेको प्रहरीले मुद्दा चलाउन थालेको हो।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

केही दिनअघि मात्रै काठमाडौँको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो। उनीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोप सहित मुद्दा चलाएको छ।

लागुऔषध खाएर गाडी चलाएका ५ जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा ५ दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update