Kath khabar
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउदै मेस्सी बने सर्वकालिन महान् फुटबल खेलाडी 

 

                                        काठमाडौं, पुस ४ ।  कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे।

परम्परागत अरबी पहिरनमा यी ३५ वर्षीय आर्जेन्टिनी नायकले आफ्नो खेलजीवनमा निकै प्रतीक्षा गरिएको विश्वकप उचाल्नुअघि आफ्ना हत्केला रगडे। आतसबाजी भइरहेको बेला उनले विश्वकप उचालेर हर्षोल्लास मनाए।

मेस्सीले आफ्नो सपना पूरा गरे, धेरैले विश्वकप इतिहासमै हालसम्मकै उत्कृष्ट भनिरहेको फाइनलमा उनले कपहरूको सङ्कलनमा रहेको अभावलाई विश्वकपसँगै पूर्ति गरे।

७ वटा बलोन डी’ओर, ४ वटा च्याम्पीअन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको उपलब्धिको सूचीमा थपिएको छ।

यो उपाधिलाई मेस्सीका करोडौँ समर्थकहरूले उनी फुटबलका सर्वकालिक महान् खेलाडी हुन्न भन्ने प्रमाणका रूपमा प्रस्तुत गर्नेछन्। विश्वकपको पन्ध्र इन्च अग्लो स्वर्ण ट्रफीका कारण धेरैले मेस्सी महान् रहेको बताउनेछन्। अनि त्यस तर्कमा विमति राख्नेहरूलाई आफ्नो तर्क पेस गर्न कठिन हुनेछ।

अब मेस्सीलाई पेले र आइतवार लुसैल रङ्गशालामा धेरै आर्जेन्टिनीहरूले बोकेको ब्यानरमा देखिएका अर्का खेलाडीकै पङ्क्तिमा राखिनेछ भन्नेमा कोही असहमत हुन सक्नेछैन।

संघर्ष  र सफलता :

सफलताको यो उच्चबिन्दुमा मेस्सी कसरी पुगे ? आर्जेन्टिनालाई विश्वकप जिताउने र मेस्सीको नाम सदाका लागि जोडिने गरी भएको प्रतिस्पर्धाको उत्कर्षलाई कसरी हेर्ने ?

मेस्सीले पक्कै आफू सहभागी भएको सन् २००६ को पहिलो विश्वकप देखि सन् २०१४ को फाइनलमा जर्मनीसँग पराजित हुँदासम्मको विगतका कारण अहिलेको उपाधि सहजै जितिने खालको नभएको थाहा पाएको हुनुपर्छ।

त्यसैले निकै सकसपछि लुसैल रङ्गशालाको पछिल्लो दर्शनीय रातमा मेस्सीले आर्जेन्टिनाको लागि तेस्रो विश्वकप जिताउँदा त्यो झन् आकर्षक बनेको थियो।

अनि त्यो सबै फ्रान्सका २३ वर्षीय प्रतिभाशाली खेलाडी किलियान एम्बाप्पेको उपस्थितिमा भएको थियो। मेस्सीको विश्वकप यात्राको अन्तिम अध्याय बनेको फ्रान्स विरुद्धको खेलमा सुरुदेखि नै रहस्य र रोमाञ्च देखा परे। निकै उतार चढावहरू आए, अविस्मरणीय बनेको आइतवार राति उक्त अध्याय निकै राम्ररी समापन भयो।
 

श्रोत:बीबीसी

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update