Kath khabar
काठमाडौँको ग्लासियर इन्टरनेशनल कलेज ९ औं पटक कालोसूची (ब्ल्याक लिष्टमा)

 

                        काठमाडौं, पुस २१।  काठमाडौँको ग्लासियर इन्टरनेशनल कलेज कर्जा सूचना केन्द्रको कालोसूची (ब्ल्याक लिष्ट)मा परेको छ । कलेजले संचालन गर्नका लागि विभिन्न बैंकबाट लिएको कर्जा तिर्न नसके पछि कलेजलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

कलेजलाई केन्द्रले विभिन्न बैंकहरुको पत्रानुसार कर्जा नतिरेको भन्दै ९ पटक कालो सूचीमा राखेको छ । भदौ २०, भदौ २१, असोज ९ गते, मंसिर १८ गते, मंसिर २८ गते, पौष ५ गते र पौष १२ गते गरी उक्त कलेज ९ पटक कालो सूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

यसरी कालो सूचीमा पर्नेमा कलेज मात्र होइन कलेजका संचालक पनि परेका छन् । कलेजका अध्यक्ष, प्रधानाध्यापक र बोर्डका अरु ३ जना सदस्यलाई केन्द्रले कालोसूचीमा रहेको जनाएको छ । कालोसूचीमा पर्नेमा दिलिप कुमार विष्ट, दिवस शाक्य, हिम्मत थपलिया, जानकी शरण यादव र रिजन प्रसाईँ रहेका छन् । विष्ट कलेजका अध्यक्ष हुन भने शाक्य प्रिन्सिफल हुन् । यादव र प्रसाईँ कलेजका निर्देशक हुन् भने थपलिया सुरक्षा प्रमुख हुन् ।

मन्टेश्वरी देखि स्नातक (बिबिएस) सम्म पढाई हुने यो कलेजमा १ हजार बढी विद्यार्थी छन् । स्नातकमा बिबिएसको भर्ना खोलेको कलेजले कालो सूचीमा परेकै कारण विद्यार्थी नपाउने सम्भावना बढेको छ ।

यता कलेजले भने कालो सूचीमा पर्नु सामान्य विषय भएको जनाएको छ । ‘हो हाम्रो कलेज कालो सूचीमा परेको छ । यो देशका नेताहरुका कारण देश मन्दीतीर गयो । हामी नेपालीले दुःख पायौँ’, कलेजका प्रिन्सिफल दिवस शाक्यले भने, ‘तर कालो सूचीमा पर्नु सामान्य हो । कर्जा नतिरेपछि बैंकले गर्ने यही त हो ।’

कालो सूचीमा पर्नु समाचारको विषय नभएको भन्दै शाक्यले आफू पनि मिडिया मालिक भएको बताए । ‘कर्जा सूचना केन्द्रले आफै नाम प्रकाशन गरिसकेको छ । यो विषय कसरी समाचार बन्यो र ?’, उनले भने, ‘मेरो पनि अनलाईन छ, पत्रिका छ । राम्रा समाचार खोज्नुहोस् ।’

ऋणी कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्नु सामान्य विषय भएको भएता पनि ९ वटा बैंकबाट के प्रयोजनका लागि कर्जा लिनु भएको थियो भन्ने मोटिभेट न्यूजको प्रश्नमा शाक्यले जवाफ दिन चाहेनन् । कलेजले थुप्रै बैंकबाट कर्जा लिई कर्जाको दुरुपयोग गरेका कारण ऋण चुक्ता गर्न नसकेको जानकारहरुको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update