Kath khabar
डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र "म अलप हुन चाहन्छु" (Into The Mist) प्रदर्शन हुँदै


                               काठमाडौं, पुस २६ ।  ‘मुभी लभर्स स्क्रिनिङ’मा यसपालि डोरबहादुर विष्टको ९६ औं जन्म जयन्तीमा उहाँको जीवनमाथि आधारित वृत्तचित्र "म अलप हुन चाहन्छु" (Into The Mist) प्रदर्शन हुँदै छ । सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित यो वृत्तचित्रले डोरबहादुर विष्टको जीवनयात्रा समेटेको छ ।

मानवशास्त्री तथा विचारक डोरबहादुर विष्टको जीवन उतारचढावले भरिपूर्ण थियो । मानवशास्त्रमा उल्लेखनीय भूमिका खेलेका विष्टका थुप्रै किताब र रिसर्चहरू प्रकाशित छन् । प्राज्ञिक व्यक्तित्व विष्टलाई "नेपाली मानवशास्त्रका पिता" भनेर पनि चिन्दछन ।

जुम्लाको चौधाविशा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न कटिबद्ध विष्ट सन् १९९५ अचानक गायब भए । रहस्यमयी तरिकाले अलप भएका विष्टसम्बन्धी धेरै ‘Consipiracy Theory’ छन् । उनको व्यापक खोजी भयो तर अहिलेसम्म उनलाई कसैले फेला पार्न सकेको छैन । उनी हराए पनि उनी जुम्लावासीको मनमा अझै छन् । जुम्लाका मानिस अहिले पनि उनलाई सम्झेर भावुक हुन्छन् । विष्टजस्ता बौद्धिक व्यक्तित्वको अभाव समाजले भोगिरहने निश्चित छ ।

उनको प्रसिद्ध तथा विवादित किताब 'Fatalism and Development' ले नेपाली समाजमा बहस नै निम्त्यायो । कसरी भाग्यवादले नेपाली समाजलाई पछाडि घिसारिरहेको छ भन्ने उनका तर्कहरूमा धेरै सहमति र विमति पनि देखिए । उनका अन्य किताबहरूमा ‘People of Nepal’, ‘सोताला’, ‘Report From Lhasa’ डोरबहादुर विष्टका कृतिहरू’ हुन् ।

यो वृत्तचित्रले ऐतिहासिक महत्त्व बोकेको छ । विष्टजस्ता महत्त्वपूर्ण व्यक्तिबारे सबैले थाहा पाउनुपर्छ । यो वृत्तचित्रको प्राज्ञिक महत्त्व पनि त्यत्तिकै छ । विश्वविद्यालयका किताबहरू उनका थ्योरी पढेकाहरूका लागि त यो वृत्तचित्रले अझ विशेष अर्थ राख्छ । नयाँ पुस्तामाझ पनि यो रोचक सामग्री हुन सक्छ ।  सिनेमाको महत्त्वपूर्ण विधाका रूपमा रहे पनि नेपालमा वृत्तचित्र त्यति फैलिन सकेको छैन । त्यसैले पनि वृत्तचित्र देखाउने जमर्को गरेका ‘मुभी लभर्स’ परिवार बताउनु हुन्छ ।

‘मुभी लभर्स’ परिवार सबैलाई यो स्क्रिनिङमा स्वागत गर्दछ । डोरबहादुर विष्टको जन्मदिन (माघ ४)को अवसर पारेर  यो कार्यक्रम राखिएको हो । वृत्तचित्र हेरिसकेपछि सानो बहस कार्यक्रम पनि हुनेछ । 

समय : साँझ ५ बजे
स्थान : CDC Cinema, CTC Mall, सुन्धारा
टिकट : रु. २००/-

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update