Kath khabar
गायक देखि नायकको यात्रामा गायक स्वप्न सुमन

 

                                  काठमाण्डौं, माघ ६ ।   गायक स्वप्न सुमन फिल्ममा डेब्यू गर्दैछन्। उनले दिनेश राउतको निर्देशनमा बन्ने फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन्।

लभस्टोरी फिल्ममा प्रमाणित निर्देशक दिनेश राउतले चर्चित गायक स्वप्न सुमन (थापा) लाई मुख्य भूमिकामा लिएर एक लभस्टोरी फिल्म बनाउने भएका छन् । पछिल्लो रिलिज फिल्म ‘प्रकाश’को समयमा उनले स्वप्नसँग नयाँ फिल्मका लागि सम्झौता गरेका थिए । आगामी बैशाखबाट छायांकन हुने फिल्म शहर केन्द्रित कथावस्तुमा निर्माण हुनेछ । 

फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । ‘शहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा फिल्म बन्नेछ। हामीले स्वप्न सुमनलाई अडिसनबाटै छनोट गरेका हौं। अडिसन सकिएपछि उनले ३ महिना अभिनय तालिम गरे। फिल्ममा पात्रको भूमिका निर्वाह गर्न सक्ने भएपछि हामीले अभिनेता सार्वजनिक गरेका हौं,’ निर्देशक राउतले जानकारी दिए ।

फिल्ममा स्वप्न सुमनबाहेक अन्य कलाकार सार्वजनिक गरिएको छैन। निर्देशक राउतका अनुसार अर्को साताभित्र कलाकारसँगै निर्माण कम्पनीबारे जानकारी दिइनेछ। फिल्मको पटकथा विकास सुवेदीले तयार पारिरहेका छन्। फिल्मको वैशाखमा छायांकन सुरू हुनेछ। 

स्वप्न सुमन नेपाली सांगीतिक क्षेत्रमा रूचाइएका गायक हुन्। ‘युट्युब सेन्सेसन’ स्वप्नका ‘कफी सङ्ग’, ‘ए हेलो’, ‘कसरी भनुँ’, ‘म तिम्रो’ जस्ता गीतहरुले लोकप्रियताको उचाईं दिलाएका थिए । गायनमा उनको उदय भने कभर गीतहरु गाएर भएको थियो । उनै, स्वप्न समुनको अब अभिनेता बन्ने सपना साकार हुँदैछ ।

यसै वर्ष उनले अभिनेत्री ज्योत्सना योगीसँग विवाह गरेका छन्। उनीहरूको विवाहको ‘वाचा भयो’ बोलको गीत हिट भएको थियो। 

 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update