Kath khabar
माइतीघर मण्डलामा काठमाडौंका मेयर शाह विरुद्ध प्रदर्शन

 

                 काठमाडौं, माघ १५ । उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेको छ ।

मेयर शाहले गैरकानुनी ढङ्गले महानगरपालिका भित्र डोजर आतङ्क फैलाएको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति काठमाण्डौले आज आइतवार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा समितिले जनप्रतिनिधि भएर नागरिकलाई दुःख दिने काम नगर्न मेयर शाहलाई चेतावनी समेत दिएको छ । 

मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुने गरी डोजर आतङ्क फैलाएकाले खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताउनुभयो । मेयर शाहले नागरिकलाई दुःख दिने काम गरिरहे सह्य नहुने उहाँले चेतावनी दिनुभयो ।

प्रदर्शनकारीहरूले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन गरेर मेयर शाहले ज्यादती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा सूचना समेत नदिइ व्यक्तिगत सम्पत्ति माथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराएका छन् ।

महानगरले गैरकानुनी ढङ्गले व्यक्तिको सम्पत्ति माथि डोजर चलाउने काम गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update