Kath khabar
पोखरामा जलेका युवकलाई बचाउँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

 

                       पोखरा, माघ १६ ।  आगोमा जलेका युवकलाई बचाउँदा घाइते भएकी पोखराकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

पोखरा महानगरपालिका-१३ काहुँखोलामा माघ १५ गते आत्मदाह गरेका युवकलाई बचाउने घरधनी महिलाको उपचारका क्रममा मृत्यु भएको हो। काहुँखोलाकी ४० वर्षीया संगीता सापकोटाको आज बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार, सापकोटाको शरीरको ८५ प्रतिशत भाग जलेको थियोे। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका क्षेत्रीले आइतबार आत्मदाहको प्रयास गरेका थिए।

उनलाई बचाउने क्रममा सापकोटाको शरीरमा आगो सल्किएर गम्भीर घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यलय, कास्कीका निमित्त प्रवक्ता सुवास तिमिल्सिनाले बताए।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update