Kath khabar
पढेर जागिर होइन, उद्यमी बन्ने हो


                   तुलसीपुर, माघ २० । दिपेन्द्र मावि कक्षा १० मा पढ्ने जुना परियारलाई उद्यमशीलतामा निकै चासो थियो । पढेर फुर्सदको समयमा उनी घरमा केही न केही उद्यम गरिरहेकी हुन्थिन् । पढेर राम्रो उद्यमी बन्ने उनको सपना पनि थियो ।

तुलसीपुर मेट्रो कलेज र ग्रीन फाउन्डेसनको सहयोगमा सञ्चालित उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि उनको सपना थप मजबुत भएको छ । “मलाई पढेर जागिर खाने भन्दा पनि आफूले केही उद्यम गर्ने कुरामा धेरै चासो छ, तालिम पाएपछि धेरै गर्न सकिन्छ जस्तो लागेको छ” उनले भनिन् । कृषिमा आधारित उद्यम गर्ने उनको सोच रहेको छ ।

माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको कक्षा १० मा अध्ययनरत विद्यार्थी लेखराज देवकोटालाई पनि उद्यमशीलताका बारेमा जानकारी लिन पाउँदा निकै खुसी लागेको छ । आफ्नै गाउँठाउँमा बसेर काम गर्ने चाहना बोकेका देवकोटालाई सीप सिकेर स्थानीयस्तरमै काम गर्ने रहर छ । “मलाई त सानोतिनो केही काम भएपनि आफ्नै ठाउँमा गर्न मन लागेको छ, तालिम पाएपछि झनै आँट बलियो भएको छ” देवकोटाले खुसी हुँदै सुनाए ।

विक र देवकोटाजस्ता सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई ग्रीन फाउन्डेसनको सहकार्यमा तुलसीपुर मेट्रो कलेजले उद्यमशीलता, पढ्दै कमाउँदै र वातावरण संरक्षणका बारेमा विभिन्न कुराहरू सिकाइरहेको छ ।

सानैदेखि विद्यार्थीहरूलाई उद्यमशीलताका बारेमा सिकाउनका यस्तो अभियान सञ्चालन गरिएको ग्रीन फाउन्डेसनका सुरेश रावतले जानकारी दिनुभयो । उहाँले विभिन्न ६ वटा सामुदायिक विद्यालयहरूमा करिब ५ सय विद्यार्थीहरूलाई यस्तो अभियानका बारेमा जानकारी गराएको बताउनुभयो। “हामीले केही नमुना विद्यालय छनोट गरेर पहिलो चरणको अभियान सम्पन्न गरेका छौ, विस्तारै अन्य विद्यालयहरूमा पनि पुग्ने योजना रहेको छ ।” रावतले भन्नुभयो। रावतले हरेक विद्यालयमा उद्यमशील समुह गठन गरिएको र उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि समुहका विद्यार्थीहरूलाई परिचालन गरिने पनि उहाँको भनाई थियो ।

उद्यमशीलताको तालिमसँगै आवश्यकताअनुसार विभिन्न सीपमुलक तालिम पनि सञ्चालन गर्ने तयारी गरिरहेको तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो । “हामीले उद्यमशीलता तालिम लिएकाहरूको रुचि, चाहना र आवश्यकताका आधारमा विभिन्न तालिमहरू पनि दिनेछौ” कलेज प्रमुख आचार्यले भन्नुभयो ।  उहाँले तुलसीपुरलाई उद्यमीहरूको सहरकारुपमा विकास गर्नका लागि कलेजले विभिन्न उद्यमशीलताका कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update