Kath khabar
दुई दिनको अवधिमा इनड्राइभर चलाउने ३७ चालक ट्राफिक प्रहरीको फन्दामा

 

              काठमाडौं, फागुन ५ । नेपालमा दर्ताबिना लामो समयदेखि सञ्चालनमा आइरहेको राइड शेयरिङ एप इन्ड्राइभर चलाउने ३७ चालकलाई २ दिनको अवधिमा ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कारबाही गरेको छ ।

प्रयोजन विपरीत चलाउने १७ जना मोटरसाइकलका चालकलाई बुधबार र २० मोटरसाइकल चालकलाई बिहीबार कारबाही गरिएको काठमाडौं उपत्यकाका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । निजी प्रयोजनमा दर्ता भइ भाडा लिइ यात्रु बोक्ने गरेको पाइएपछी काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट उनीहरूलाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए ।

कानुनमा के छ ?
निजी नम्बर प्लेट अर्थात् रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न पाउने वा नपाउने भन्ने बहस चलेको केही वर्ष भइसक्यो यो बीचमा २०७५ साल माघ १८ गते बागमती प्रदेश सरकारले प्रदेश राजपत्रमा निजी सवारी साधनहरूले पनि यात्रु बोक्न पाउने व्यवस्था गर्‍यो ।

उक्त राजपत्रको दफा १३ को उपदफा (४) मा निजी प्रयोजनको लागि दर्ता प्रमाणपत्र प्राप्त ४ पाङ्ग्रे तथा २ पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्रा बीमा गरी यात्री ओसार पसार गर्न सक्नेछ । भन्दै रातो नम्बर प्लेटका सवारी साधनहरूले पनि यात्रु बोक्न पाउने नीतिगत व्यवस्था गर्‍यो ।

त्यस्तै बागमती प्रदेश सरकारले बनाएको २०७९/८० को आर्थिक विधेयकमा राइड शेयरिङ एपमा आधारित कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको छ । उक्त विधेयकको दफा १८ को उपदफा (४) मा बागमती प्रदेश भित्र विद्युतीय सूचना प्रणालीबाट सञ्चालन गरिएको राईड सेयरिङ एपमा निजी नम्बरका सवारी साधन भाडा लिने प्रयोजनमा प्रयोग गरी सेवा दिने संस्थाले तोकिएको दस्तुर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा बुझाइ अनुमति लिई सञ्चालन गर्नु पर्ने उल्लेख छ ।

साथै उक्त ऐन प्रारम्भ हुनु अघि राईड सेयरिङ एप प्रयोग गरी विद्युतीय सूचना प्रणालीबाट सञ्चालनमा रहेका संस्थाले संवत् २०७९ साल चैत्र मसान्त भित्र अनुमति लिनु पर्ने उल्लेख छ । दर्ता अनुमतिको लागि २ पाङ्ग्रे मात्रको लागि २५ हजार, ४ पाङ्ग्रेको लागि ५० हजार र २ पाङ्ग्रे र ४ पाङ्ग्रे दुवैको लागि ७० हजार रुपैयाँ तोकिएको छ । यस संस्था प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने र नवीकरण गर्दा दर्ताको ५० प्रतिशत रकम तिर्नुपर्ने पनि सोही ऐन मा उल्लेख छ ।

के अब सबै राइड शेयरिङमा आवद्ध २ पाङ्ग्रे सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्ने हो भन्ने प्रश्नमा एसएसपी भट्ट भन्छन्, ‘आज कारबाहीमा परेका सबै चालकहरू इनड्राइभर चलाउने हुन । त्यो नेपालमा दर्ता पनि रहेनछ । त्यही भएर कारबाही गरिएको हो ।’

उनले भने, ‘नेपालमा दर्ता भएर संचालनमा आएका राइड शेयरिङहरूलाई भने कारबाही गरिएको छैन । तर, सडकमा यात्रु पर्खेने नाममा रोकेर सवारी आवागमनमा बाधा अवरोध पुर्‍याउनेहरूलाई भने ट्राफिक प्रहरीले कारबाही गर्दै आइरहेको छ ।’

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update