Kath khabar
रामेछाप खिम्तीका तीर्थ श्रेष्ठ सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता

 
                 रामेछाप, फागुन ८ । रामेछापको लिखुतामाकोशी गाउँपालिकाका एक युवक सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता भएका छन् ।

लिखुतामाकोसी गाउँपालिका वडा नं ६ खिम्तीका ३२ वर्षीय तीर्थ श्रेष्ठ (आर्यन) सिन्धुली जिल्लाको पिक्कल गाउँपालिका वडा नं ५ झगरे बेसीस्थित सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर फागुन ५ गते शुक्रवार दिउँसो साढे एक बजेदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनी हाल काठमाडौँमा बसोबास गर्दै आएका थिए। प्रहरीका अनुसार प्रदेश ३–०२–००५ प ६४७४ नम्बरको मोटरसाइकलमा सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडा नं २ घर भएका २० वर्षका सुमन बस्नेतलाई लिएर श्रेष्ठ काठमाडौँबाट सोलुखुम्बु हिँडेका थिए । सोलुखुम्बु जानेक्रममा चालक श्रेष्ठ पौडी खेल्न सुनकोसीमा गएको र पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीका भनाइ छ । उनी चर्चित रियालिटी सो द भ्वोइस अफ नेपाल सिजन ४ मा पनि सहभागी भएका थिए ।

श्रेष्ठ घटना भएकै स्थानमा पानी भित्रै डुबेको हुनसक्ने भएकाले दक्ष गोताखोर (पौडी वाज) आवश्यक रहेको प्रहरीको भनाइ छ । यता श्रेष्ठको परिवारले भने छिटो भन्दा छिटो खोजी गरिदिन प्रहरी लगायत सबैसँग आग्रह गरेको छ

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update