Kath khabar
सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति

 

                   बेइजिङ, फागुन २६ । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित भएका छन् । यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४ औँ महाधिवेशनले उनलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो ।

महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहोर्‍याए ।

त्यसैगरी, महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । यसैबीच अमेरिकी समाचार समिति एशोशिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित भएको टिप्पणी गरेको छ । उनले २ हजार ९ सय ५२ मत प्राप्त गरेको तथा उनको विपक्षमा १ मत पनि नपरेको जनाइएको छ ।

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बनेका हुन् । संविधानमा २ पटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उनी सत्तासिन भएका हुन् । गोप्य रुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update