Kath khabar
दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण

 

                 टोकियो, चैत २ ।  उत्तर कोरियाले दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि नै इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ ।

जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन्। बिहीबार बिहान प्रहार गरिएको मिसाइल जापानबाट करिब एक हजार किलोमिटर पश्चिममा समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७:१० मा मिसाइल प्रक्षेपण गरिएको थियो।

जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आइसीबीएम भएको स्वीकार गरेको छ । उसले करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको बताइएको छ । यो मिसाइलको फायरपावर अमेरिकासम्म रहेको बताइएको छ ।पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो । यद्यपि बाँकी मिसाइलहरू छोटो दूरीमा प्रहार गर्ने थिए।

कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले यो कदम चालेको हो । उत्तर कोरियाले धेरै पटक भनेको छ कि उसले यस्तो चालबाजीलाई उक्साउने कामको रूपमा हेरेको छ।

तर, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले यो मिसाइल प्रक्षेपणपछि अमेरिकासँगको यो संयुक्त अभ्यास जारी रहने बताएका छन् । उनले यो पनि भने कि उत्तर कोरियाले आफ्नो “लापरवाह उत्तेजना” को लागि मूल्य चुकाउनुपर्नेछ।

बिहीबारको मिसाइल प्रक्षेपणपछि दक्षिण कोरिया र जापानले पनि आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने घोषणा गरेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update