Kath khabar
सहिद स्मारक 'ए' डिभिजन लिग : चर्च ब्वाइज र मछिन्द्रको बराबरी, थ्री स्टारलाई हराउदै जावलाखेल विजयी

 

                      काठमाडौं, चैत ३ ।  राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोल रहित बराबरी खेलेका हुन् । खेलको ४१ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो । जावलाखेलको जितमा एन्कोटो मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ । थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update