Kath khabar
एक महिनाभित्र खानेपानी तथा सरसफाइ नीति आउने



                 काठमाडौं, चैत ५ । खानेपानी तथा सरसफाइ क्षेत्रमा विद्यमान सबै मुद्दाहरूलाई समेटेर एक महिनाभित्रै सरकारले नयाँ नीति ल्याउने भएको छ ।

आजदेखि राजधानीमा आयोजित “वर्षातको पानी संकलनः खानेपानी सुरक्षण र जलवायु परिवर्तनका असरहरूको संबोधन“ विषय दुई दिवसीय राष्ट्रिय सम्मेलनको समुद्घाटन मन्तव्यमा खानेपानी मन्त्रालयका सचिव ई. मणिराम गेलालले यसको जानकारी दिनुभएको हो ।

खानेपानी र सरसफाइका क्षेत्रमा विद्यमान सबै विषयहरूलाई समेटेर एक महिनाभित्र नयाँ नीति आउने छ, सचिव गेलालले भन्नुभयो, यसमा जलवायु परिवर्तन, वर्षातको पानी संकलन, भूमिगत पानीको उपयोग र सरसफाइका हाल देखिएका सबै समस्याहरुलाई सम्बोधन गरिने छ । उहाँले यसै वर्ष खानेपानी तथा सरसफाइ ऐन २०७९ आएको स्मरण गराउँदै ऐन अनुकूलको नियमावली छिट्टै आउने जानकारी पनि दिनुभयो ।

सचिव गेलालले खानेपानी क्षेत्रका हाल देखिएका र भविष्यमा आउने सबै खाले चुनौतीहरूको समाधान गर्न सरकार सबैसँग सहकार्य गर्न  तयार रहेको पनि जानकारी दिनुभयो । खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रा.लिद्धारा आयोजित राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको रुपमा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा.बिन्दुनाथ लोहनीले “पानी सुरक्षित र पानी लचिलो हुन के गर्ने ?“भन्ने विषयमा मन्तव्य दिनुभएको थियो भने इन्टरनेशनल रेनवाटर हार्भेष्टिड. एलायन्सका अध्यक्ष हान हेज्नानले “वर्षातको पानी अति मूल्यवान “ भन्ने विषयमा ।

सम्मेलनमा स्वागत मन्तव्य प्रकट गर्दै स्मार्ट वास सोलुसन्सका  अध्यक्ष ई. रामदीप साहले जलवायु परिवर्तनले वर्षातको प्रवृत्ति परिवर्तन भैरहेको लामो खडेरी हुँदा पहाड र हिमाली क्षेत्रमा पानीको मुहान सुकेर बसाई सर्नुपर्ने बाध्यता उपस्थित भैरहेको र तराईमा  भूमिगत पानीको तह घट्दै गएको बताउनुभयो । उहाँले वर्षातको पानी संकलनलाई हरेकले घरमा, समुदायमा उपयोग गर्न सके पानीको अभावका कारण सिर्जित हुने बर्षाको पानीको समुचित व्यवस्थापन नभएर बाढी र पहिरोजाने प्रवृत्ति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

विश्वपानी दिवस सप्ताहको अवसर पारेर आयोजित सो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री ई. गणेश साहले पानीको समस्याबाट मुक्त  हुनासाथ व्यक्ति, परिवार, समाज र राष्ट्र विकासका अन्य कार्यमा समर्पित हुन पाउने भएकोले पानीका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो । सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपाल विज्ञान प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)का पूर्वउपकुलपति डा. सुनिलबाबु श्रेष्ठले नेपाललाई पानीको संकटबाट मुक्त गर्न र पानीबाट आउने संकट न्यूनीकरण गर्न वर्षातको पानी संकलन अचुक उपाय भएको बताउनुभयो । सम्मेलनको प्राविधिक समितिका संयोजक समेत रहनुभएका डा. श्रेष्ठले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको बारेमा जानकारी पनि दिनुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै वाटर एड नेपालका देशीय प्रतिनिधि तृप्ती राईले वर्षातको पानी संकलनलाई घरमा सोलार राखेजस्तै सरल ढंगले उपयोगमा ल्याउन सके हरेक परिवार पानीको  संकटबाट मुक्त हुने बताउनुभयो ।

यो सम्मेलनको सहआयोजकमा उच्चस्तरीय वागमती सभ्यता संरक्षण तथा विकास समिति, नगर विकास कोष, इन्टरनेशनल रेनवाटर हाभेष्टिड। एलाएन्स, ग्लोबल पिस फाउण्डेशन नेपाल, दियालो टेक्नोलोजी प्रा.लि., बायोग्यास सपोर्ट प्रोग्राम र इन्भायरोमेन्ट एण्ड रिसोर्सेज म्यानेजमेण्ट कन्सल्टेन्सी (इआरएमसी)रहेका छन् । सम्मेलनलाई नेवाःह, नेपाल वाटर फर हेल्थ, एसएनभी, हेल्भेटास, बेष्ट पानी प्रा.लि.,सस्टेनेबल प्रस्परिटी इनिसियटिभ नेपाल, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट र प्लाष्ट नेपाल फाउण्डेनको सहयोग रहेको छ ।

आयोजक समिति एवम् स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. साहका अनुसार सम्मेलनको अन्त्यमा काठमाडौं घोषणा जारी गरिनेछ ।


 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update