Kath khabar
वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सरकार प्रतिवद्ध छ - प्रधानमन्त्री दाहाल

 

                   काठमाडौं, चैत ९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू वाक तथा अभिव्यक्ति स्वतन्त्रका लागि प्रतिवद्ध रहेको जिकिर गरेका छन् । सामुदायीक रेडियो प्रसारक संघ अकोराबको १७ औं साधारण सभा तथा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफूले प्रधानमन्त्री भएदेखि नै प्रेस स्वतन्त्रताका पक्षमा प्रभावकारी काम थालेको जिकिर गरे ।

प्रधानमन्त्री सहभागि एक कार्यक्रममा सहभागि युवाहरुको अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आफ्नो प्रतिवद्धता दोहोर्‍याएका हुन् । त्यस्तै उनले वर्तमान सरकार समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको समेत बताए ।

लोकतन्त्र स्थापनामा सामुदायीक रेडियोको भूमिका स्मरिणीय रहेको बताएका उनले सञ्चार माध्यमहरु विकास तथा उन्नयनका लागि सरकारले सक्दो पहल गर्ने वचन दिए। प्रेस स्वतन्त्रताको रक्षाकै लागि आफूले आवश्यक हस्तक्षेप समेत गरेको उनको तर्क छ। उनले भने ‘वाक र प्रेस स्वतन्त्रतासंग सम्बन्धित केही विषयहरु विवादमा आउन थालेपछि मैले आफैंले हस्तक्षेप गरेर त्यसलाई रोकेको छु र प्रेस स्वतन्त्रताको पक्षमा मैले सुरुकै दिनबाट पहल बढाएको छु ।’

उनले आमसञ्चारका क्षेत्रमा विद्यमान नीतिगत र कानूनी प्रावधानहरु प्रयाप्त नभएको भन्दै कानून निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । उनले भने ‘वर्तमान सरकार सञ्चार माध्यमको व्यवसायीक र संस्थागत विकासको लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरि संरक्षण र संर्वद्धनको नीति लिंदै आम सञ्चार माध्यममा सबैको पहुँच बढाउनका लागी समावेशि, लोकतान्त्रीक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको छ ।’

सरकारले अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारी वोधगर्दै नीतिगत र कानूनी समस्या तथा उल्झन सुल्झाउन आवश्यक प्रयास गर्ने उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update