Kath khabar
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या

 

                   केन्या, वैशाख १० ।  अफ्रिकी देश केन्यामा क्रिस्चियन पादरीको आदेशमा २९ जनाले भोकै बसेर सामूहिक आत्महत्या गरेका छन् । किल्फी प्रान्तको शाकाहोला जंगलबाट प्रहरीले उनीहरुको शव फेला पारेको हो ।

गुड न्युज इन्टरनेशनल चर्चका पादरीले यी मानिसहरूलाई भोकै बसेर आफूलाई गाड्ने हो भने येशूलाई भेट्ने र स्वर्गमा जाने बताएका थिए। अहिले ३ दिनदेखि ती व्यक्तिहरुको शव निकाल्ने काम भइरहेको छ ।

केन्याको प्रहरीले एकै परिवारका ५ जनालाई चिहानबाट निकालेको छ । जो येशूलाई सँगै भेट्न चाहन्थे। प्रहरीले हालसम्म ६५ वटा चिहान फेला पारेको छ । यसबाट मानिसलाई निकाल्ने काम भइरहेको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । कोही जिउँदै होलान् भन्ने आशामा प्रहरीले चिहान खन्न थालेको छ । तर, प्रहरीले अहिलेसम्म लाश मात्र फेला पारेको छ । यसमा धेरै बालबालिका पनि परेका छन् ।

घटनाको खुलासा भएपछि प्रहरीले पल म्याकेन्जी नामका पास्टरलाई पक्राउ गरेको छ । तर, उनले आफूले मानिसहरूलाई आत्महत्या गर्न प्रेरित गरेको कुरा अस्वीकार गर्दै आएका छन् । उनले सन् २०१९ मा नै चर्च बन्द गरेको बताए । तर, प्रहरीले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

समाचार वेबसाइट ‘केन्या डेली’का अनुसार प्रहरीले अहिले सबै शवको डीएनए नमूना संकलन गरिरहेको छ । ताकि ती मानिसहरू भोकमरीले मरेका हुन् भन्ने प्रमाणित होस्।

पास्टर पल म्याकेन्जी विगतमा २ बालबालिकाको मृत्युको कारण बनेका थिए । त्यसपछि उनका अभिभावकको उजुरीमा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो । त्यतिबेला उनी १० हजार केन्याली शिलिंग जरिवाना तिरेर रिहा भएका थिए । यसपछि प्रहरीले गत अप्रिल १४ मा ११ जनाको शव फेला पारेपछि उनी फेरि समातिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update