Kath khabar
तनहुँमा ५२ प्रतिशत मत खस्यो

 

               तनहुँ, वैशाख १० ।  तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ।

प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए। गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो।

यस क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ५४ प्रतिशत मत खसेको ढकालले जानकारी दिए। उनका अनुसार १ सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ।

निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ। उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन्।

भानु नगरपालिकाका १३ वडामा ४० हजार ८ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।

देवघाटका ५ वडामा १२ हजार ७ सय १२ मतदाता छन्। देवघाटमा ८ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाका ६ वडामा १३ हजार ६ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा ९ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका ६ वडामा १५ हजार ६ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र २२ मतदान केन्द्र छन्।

व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार ४ सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।

उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा ९एमाले० बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update