Kath khabar
काठमाडौं महानगरपालिकाद्वारा माध्यमिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ

 

              काठमाडौं, वैशाख १२ ।  काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयको माध्यामिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ ।

मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गर्दै महानगरले पाठ्य पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसंगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पुरा गर्दा कम्तीमा एक प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रमको थालनि गरेको जनाएको हो ।

अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरु पढाइ भइरहेका छन् । यस्ता कार्यक्रमबाट प्राप्त सिकाइ र सीपलाई संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्ने यसको मुख्य लक्ष्य हो ।

वर्तमान समयअनुकूलका दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौं महानगरपालिकाले ११ औं नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवन उपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ । तालिम सुरु भएसँगै नीति कार्यान्वयनमा आएको छ ।

९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला , काष्ठ कला, पाक कला लगाएत १० वटा क्षेत्र निर्धारण गरिएको छ । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिनेछ ।

उक्त कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुलाई अनुदान रकम उपलव्ध गराइने महानगर प्रमुख शाहले जानकारी दिए । विद्यालयस्तरबाटै सुरु गरिने यस्ता कार्यक्रमबाट बिद्यार्थीहरुलाई स्वरोजगार बनाउन मद्धत पुग्ने उनले बताए। त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले बालबालिकाहरुले विद्यालयबाट निस्कदा सीपमुलक हुने वातावरण तयार गर्न छोटो अवधिको सीपमुलुक तालिम कार्यक्रमको नीति बनाइएको जानकारी दिएकी छिन् ।

तालिम सञ्चालनका लागि शिषा अधिकारीको अध्यक्षतामा तालिम सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन र निरीक्षण गर्ने, विद्यार्थी र अभिभावकहरुको माग अनुसार थप विधाको पाठ्यक्रम निर्माण गर्ने काम गर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update