Kath khabar
यस वर्ष ७७ वटै जिल्लामा समयमा नै पुगे नयाँ किताब

 

                  काठमाडौं, वैशाख १३ ।  नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा ७७ जिल्लामा पुस्तक पुगिसकेको छ।

मंगलबारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्धक अनिलकुमार झाले बताए। ‘अलिअलि अपुग भएका जिल्लामा आगामी शुक्रबारसम्म पुस्तक पुगिसक्छ,ʼ उनले भने।

अब ५ लाख थान पुस्तक जाने अनुमान गरेको उनले जानकारी दिए। उनका अनुसार १ करोड ३५ लाख थान पुस्तक जिल्लामा पुगिसकेको छ। चालु शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको थियो।

वैशाख १५ गतेसम्म भर्ना अभियान चलिरहेको प्रबन्धक झाले बताए। शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो।

‘जनक शिक्षा सामग्री केन्द्रसँग जोडिएको १२ सय ६७ बिक्री केन्द्रले पुस्तक लगिसकेका छन्,ʼ उनले भने।
यसपटक पुस्तक छाप्ने मेसिन खरिद र जनशक्ति बढाइएका कारण समयमा पुस्तक जिल्लामा पुग्नसकेको उनको भनाइ छ।

विकट जिल्लालाई पहिलो प्राथमिकता :

जनक शिक्षाका प्रबन्ध निर्देशक झाले पहिलो प्राथमिकता विकट जिल्लालाई राखेको जानकारी दिए। ‘विकट जिल्लामा पुस्तक ढुवानी गर्न समय लाग्छ, त्यसैले हिमाली जिल्लालाई पहिलो प्राथमिकता राखेका थियौँ,’ उनले भने।

हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायत सबै विकट जिल्लामा पनि यस वर्ष पठनपाठन सुरु हुनुअगावै पुगेको जानकारी उनले दिए।

यसरी समयमै पुग्यो पुस्तक :

शैक्षिक सत्र सुरु भएको ४/५ महिना बितिसक्दा पनि विद्यार्थीहरूको हातमा पुस्तक यसअघि नपुग्ने समस्या रहँदै आएको थियो।

यो समस्या विगत १४ वर्षदेखि रहँदै आएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन्। ‘विगत १४ वर्षदेखि ढुवानीमा कमिसन नमिल्दा, सरकारले चासो नदिँदा समयमा पुस्तक पुगेन,’ उनले भने।

तर यस वर्ष समयमै सम्बन्धित ठाउँमा पुस्तक पुगेको छ। जनक शिक्षाका प्रबन्ध निर्देशक झाले पुस्तक छपाइ, वितरण लगायतमा राम्रो व्यवस्थापन भएका कारण यस वर्ष समयमा पुस्तक पुगेको दाबी गरे।

‘समयमा चालू पुँजी व्यवस्थापन गर्न सक्यौँ, कागज आपूर्ति सहज भयो, छपाइ सामग्री समयमा जुटाउन सकियो। अहिले ३ वटा रंगिन छपाइ मेसिन थप गर्‍यौं, राम्रो जनशक्ति व्यवस्थापन गर्‍यौं, यही कारण समयमा पुस्तक पुग्यो,’ उनले भने। अबदेखि पुस्तक नपुग्ने समस्या नदोहोरिने उनको जिकिर छ।

उनका अनुसार यस वर्ष समयमा पुस्तक छपाइका लागि जनक शिक्षाले ८५ करोड ऋण लिएको थियो तर अहिले सबै चुक्ता गरिसकेको उनले बताए। ‘हामीसँग अर्बौं रूपैयाँ नगद हुँदैन, ऋण लिनै पर्छ, ८५ करोड लोन लिएका थियौँ तर किताब बेचेर व्याज सहित चुक्ता भइसक्यो। अब ऋणमुक्त भइसक्यौँ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update