Kath khabar
यस्तै रहेछ यहाँको चलन, हार्नेको आँसु आँसु, जित्नेको हाँसो



                  काठमाडौं, वैशाख १६ । ख्यातिप्राप्त गायिका देविका वन्दनाले शम्भुजित बासकोटाको संगीत र दिनेश अधिकारीको शब्द रचनामा गाएको वर्षौँसम्म पनि उनलाई थाहा थिएन, एक दिन आफ्नो जीवन पनि यही गीतका हरफसँग मिल्दाजुल्दा हुनेछन् । क्यान्सरजस्तो विश्वकै भयावह अवस्थामा फैलिएको प्राणघातक रोगले छुनेछ र त्यसलाई जितेर जित्नेको हाँसो हाँस्छु भन्ने कल्पना पनि उनले गरेकी थिइनन् । क्यान्सर र क्यान्सरजस्तै हार्नेहरुलाई आँसुमा डुबाएको अनेकन् रोगले कतिपय घरलाई पिरलेको देखेकी उनले भने यसलाई पनि जितेरै छडिन् ।

यो गीतपश्चात् देविकाले सयौं सुगम, फिल्मी, भक्ति, राष्ट्रिय भावनाका गीत गाएर आफूलाई हरेक पटक उच्च कोटीको गायिकाकारुपमा प्रस्तुत गर्दै आइन् । नेवारी र नेपाली गीतका साथमा हिन्दी गीत समेत गाएर गायन यात्राको सीमा मिच्दै गइन् । तर, सिंगो विश्वलाई कोरोनाले पिरोलिरहेको बेला उनी भने स्तन क्यान्सरको फेला परिन् । सुरुका दुखाइलाई देविकाले सामान्य ठानिन्, दुखाइ हराउने र एन्टिबायोटिक औषधि खाएर टार्दै गइन् । तर, जब दुखाइ र गिर्खाले पछ्याइरहे, व्यवसायी पति महेशमान सिंह र परिवारले उनलाई परीक्षण गर्न कर गरे । परीक्षणबाट थाहा लाग्यो उनलाई स्तन क्यान्सर भइसके छ ।

सामान्य पेट दुखाइका लागि राष्ट्र प्रमुख, उपप्रमुख, सरकार प्रमुख तथा नेता र पहुँच हुनेहरु विदेश धाइरहेका बेला देविका भने स्वदेशमै क्यान्सरको उपचार गरेर स्वस्थ भइन् र ती सबैबारे डायरीमा टिपोट गर्दै गइन् । उनको डायरीलाई सबैले बुझ्ने भाषामा चिरन बरालले लेख्नेदेखि प्रकाशन गर्नेसम्मको कार्य गरी तयार भयो क्यान्सरलाई जितेपछिको देविकाको आत्मकथा जित्नेको हाँसो । जसको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंशले विमोचन गरे। देविकाको आत्मकथाको विमोचनमा उनको कथा र पीडा सुनेपछि कार्यक्रमका सहभागीले हलमै आँसु झारे, कार्यक्रम हल आँसुमय बन्न पुग्यो ।

क्यान्सरबारे धेरै सुनेको थिएँ । तर, मलाई नै क्यान्सर भइसकेछ भन्ने सुन्दा पत्याउनै गाह्रो भयो, छक्क परेँ । दिल्ली गएर उपचार गर्ने कि भन्ने कुरा भयो । तर, नेपाल क्यान्सर अस्पतालमै उपचार गरेँ । उपचारका क्रममा केमियो थेरापी गर्दा कपाल पूरै झर्यो । पछि अप्रेसन भयो । अबचाहिँ पूर्णरुपले ठीक छु । कपाल पनि आइसक्यो, देविकाले सामान्य हुने प्रयास गर्दै कार्यक्रममा सुनाइन् क्यान्सरसँग जुधिरहेको बेलामा पनि मैले आफ्नो काम गर्न छोडिनँ । स्टुडियोमा गएर गीत रेकर्ड गराईरहेँ, आर्ट गरिरहेँ, कुकिङ र ह्यान्डीक्राफ्टको काम पनि गरिरहेँ । मलाई माफ गर्नुहोला मैले त्यो बेलामा आफ्नो अस्वस्थताबारे कसैलाई भनिनँ । किनभने तपाईंहरु कसैलाई पनि चिन्ता र पीरमा पार्न चाहिनँ । म कसैको विचरा हुन सक्दैन थिएँ । कसैको विचरा होइन म । देविकाले आत्मविश्वासले नै आफूले क्यान्सरलाई जित्न सकेको बताइरहँदा हलमा प्रमुख अतिथि मह जोडीदेखि लिएर सबैजना सुक्क सुक्क गरिरहेका सुनिन्थे ।

त्यसलगत्तै क्यान्सरपछि गरिएको उपचार र उनका गतिविधि अनि अभिव्यक्ति मिसिएको भिडियो फुटेज देखाइँदा हलमा सुनिएको सुक्क सुक्कको आवाज घुक्क घुक्कमा परिवर्तन हुन पुग्यो । यो वातावरणलाई चिर्दै कार्यक्रम सञ्चालक नरेश भट्टराईले कार्यक्रमलाई नयाँ मोड दिने कोशिस गरे । जसअनुसार नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले क्यान्सरजस्तो रोगसँग लडिरहेका बेलामा पनि गीत रेकर्ड गरेर नयाँ कीर्तिमान राखेकाले उनलाई प्राप्त यस विषयको वल्र्ड बुक्स अफ रेकर्डस् हस्तानरण गरिन् ।

कार्यक्रममा सार्वजनिक पुस्तकको समीक्षा गर्दै समीक्षक प्रकाश सायमीले जित्नेको हाँसो देविकाको तेस्रो जन्म पुनर्जन्म भएको चर्चा गरे । यो एउटा कुशल गायिकाले मात्र लेख्न सक्ने कथा हो । नेपाली आत्मकथामा यो पुस्तक महत्वपूर्ण छ । यसमा देविका वन्दनाको आफ्नै आत्मा छ, सायमली भने । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले देविकाको कथाले ऊर्जा भरिएको महशुस भएको बताइन्। हामी महिला सशक्तीकरणको कुरा गरिरहेका हुन्छौं, उहाँले प्रमाणित गरेर देखाइसक्नुभएको छ । कुकिङ, आर्टिस्ट, घर सिँगार्ने, परिवार र बच्चाको रेखदेख गर्ने अनि आफ्नो कर्म पनि गर्ने उहाँ हामी सबैका लागि प्रेरणा बन्नुभएको छ । उहाँबाट मलाई ठूलो ऊर्जा मिलेको छ, राणाले भनिन् ।

अभिनेत्री वसुन्धरा भुसालले देविकाले डक्टर छोरी घरमै लिएर आएको बेला उनलाई क्यान्सर भएको थाहा भएको र छानाबाट खसेजस्तो भएको बताइन् । क्यान्सर भएको रहेछ, तर त्यस्तो कोरोनाको बेलामा पनि उनी गीत गाइरहेकी हुन्थिन् । मेरो कारणले कसैलाई पीर नहोस् भनेर नभनेको दिदी भनिन् । उनले भनेजस्तै उनी गएपछि म रातभरि सुत्न सकिन वसुन्धराले भक्कानिँदै भनिन् सकारात्मक सोचका कारण उनले क्यान्सरलाई सजिलै जितिन् । कार्यक्रमको माहोल फेरि आँशुमय हुन पुग्यो । त्यसलाई चिरेर हसाउने कोशिस गर्दै मदनकृष्ण श्रेष्ठले भने हिजोआज म रुन्चे कलाकार भएको छु । आज यहाँ रोएँ भने मलाई सबैजना मिलेर गिज्याउनु । तर, मदनकृष्णले आफूलाई धेरै बेर सम्हाल्न सकेनन् ।

मदनकृष्णका कुराले आंशुमय बन्न पुगेको कार्यक्रमलाई सम्हाल्ने कोशिष गर्दै हरिवंश आचार्यले भने रुने कथा मसँग पनि छ, तर म एक्लै रुन्छु । अघि देविकाजीको डकुमेन्टझी हेर्ने बेलामा पनि एक्लै रोएँ ।  अरुले देख्लान् भनेर आँशु पुछिन र हिजोआज रुने कारण धेरै छैन । देविका मार्वलले बनेको राम्रो मान्छेजस्तो लाग्थ्यो, मार्वलको देवी हुनुहुँदो रहेछ ।

पछिल्लो समयमा आएर देवीलाई बोका काटेर चढाएको जस्तै, पूmलमालाले हानेजस्तै, भेटीले हानेजस्तै उहाँलाई क्यान्सरले हानेको रहेछ । तर, मार्वलको देवीले पटक्कै रियाक्ट गर्नुभएन । कसैलाई थाहा पत्तो नदिकन त्यत्रो बज्रपातलाई जित्न सफल हुनुभयो । तपाईं साँच्चिकै देवी हुनुहुँदो रहेछ र सरस्वती हुनुहुँदो रहेछ । देविकाको आत्मकथा नेपालीसँगै अंग्रेजी भाषामा पनि सार्वजनिक गरिएको छ ।

माधवकुमार पौडेलद्वारा अनुवाद गरिएको यसको अंग्रेजी संस्करणलाई विनर्स गेल नाम दिइएको छ । पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update