Kath khabar
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी

 

                  खार्तुम, वैशाख १८ ।  सुडानको राजधानी खार्तुममा युद्धविराम उल्लङ्घनका घटना पछि झडप चर्किएको छ । आइतवार, सेनाले प्रतिद्वन्द्वी अर्धसैनिक बलहरूलाई पछाडि धकेल्न शहरमा हवाई आक्रमण र गोलाबारी प्रयोग गरिरहेको बताएको छ।

यसै क्रममा अर्को सहर ओमदुरमानमा हवाई हमलाको खबर आएको छ । पश्चिमी डार्फरका प्रत्यक्षदर्शीहरूले अहिले नागरिकहरू आत्मरक्षाको लागि तयारी गरिरहेको बताएका छन्।

सुडानमा हजारौं मानिस आफ्नो घर छोडेर पलायन भएका छन् । स्याटेलाइट छविहरूमा इजिप्टको सीमामा बसहरूको लाइनहरू देख्न सकिन्छ।

गत अप्रिल १५ बाट सुरु भएको द्वन्द्वपछि ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । तर विज्ञहरुले मृत्यु हुनेको संख्या धेरै रहेको बताउँदै आएका छन् ।

सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै संघर्ष चलिरहेको छ । तर यो संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो।

सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरु बाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले सबै नेपालीहरुलाई नेपाल फिर्ता गर्न सहजीकरण भइरहेको जनाएको हो ।

मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ । कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल पुगेका छन् । यसअघि नै १ जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीहरुमध्ये ५ जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेका छन् । १ जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको छ । ३ जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको मन्त्रालयले जनाएको छ । २ जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update