Kath khabar
जन्म दिनको अवसरमा चम्सुरीले ल्याइन 'तिमी जाने भट्टीतिर'



             काठमाडौं, वैशाख २४ । हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् । मृगौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले त्यसपछि यो नयाँ गीत ल्याएकी हुन् ।

आफ्नो जन्म दिनको अवसर पारेर बुद्ध पूर्णिमाको अवसरमा पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । उनको जन्म दिनको केक काट्दै काठमाडौंमा एक समारोहबीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मुरलीधर, किरण केसीसहित  दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे (माग्ने बुढा)लगायतले उनको यो गीतको विमोचन गरेका छन् ।

विमोचनपछि कलाकार मदनकृष्ण श्रेष्ठले त पल्पसालाई अहिलेको अवस्थामा देख्दा नयाँ काम गर्न आफूलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बताए । समारोहमा सबैले पल्पसालाई जन्मदिनको शुभकामना दिँदै नयाँ जीवन पाएकोमा अझ धेरै प्रगति देख्न पाइयोस् भने । रक्सीको लतमा लागेका श्रीमानलाई सुधार्ने यो सन्देशमूलक गीत ल्याएको यी कलाकारले बताएकी छिन् ।

आफ्नो स्वर ठिकै भएपनि गीतबाट केही दिन सकिन्छ की भन्ने चाहनाले यो गीत जन्मेको पल्पसाले बताईन्,‘भाईले मृगौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरै काम गर्नुछ । त्यसैले जन्मदिनको अवसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ ।’ कलाकार पल्पसाले विमोचन समारोहमा भनिन् ।

उनले यो आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गरेकी छिन् । जसमा पल्पसासँगै राजु भुजूँ, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नवीन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैँले निर्देशन गरेकी हुन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update