Kath khabar
पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले पाकिस्तानमा भड्कियो हिंसात्मक प्रदर्शन

 

                  इस्लामावाद, वैशाख २७ ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि शुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ ।

क्वेटा शहरमा प्रहरीको गोली लागि एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रदर्शनकारीहरु मंगलबार राति देखि रावलपिण्डीस्थित पाकिस्तानी सेनाको मूख्यालय घेरा हालेर बसेका छन् ।

सेना प्रमुख असिन मुनिरले आपत्कालिन बैठक बोलाएका छन् । लाहोरमा प्रदर्शनकारीको भीड एक जना सैन्य कमाण्डरको घरभित्र प्रवेश गरी तोडफोड गरेको छ । हिंसात्मक प्रदर्शन भड्किए पछि पाकिस्तान सरकारले मोबाइल र इन्टरनेट सेवा बन्द गरेको छ ।

प्रदर्शन नियन्त्रणका लागि भारी मात्रमा सुरक्षाबल परिचालन गरिएको छ । खानलाई बुधबार अदालमा पेश गर्ने सम्भावना छ । त्यस क्रममा प्रदर्शन झन् उग्र हुनसक्ने अनुमान गरिएको छ । पाकिस्तानभर बुधबार एक दिनका लागि विद्यालयहरु बन्द गरिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतमा हाजिर हुने क्रममा मंगलबार उहाँलाई अधै सैनिक बल रेञ्जर्स फोर्सले अदालत भित्रैबाट पक्राउ गरेको थियो । खानलाई पक्राउ गर्न अधै सैनिक बलले अदालतको ढोका समेत फुटाएको थियो ।

यसैबीच, खानको गिरफ्तारीको संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले बिरोध गर्दै पाकिस्तान सरकारलाई कानुनको पालना गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update