Kath khabar
मेस्सीको नाममा अर्को रेकर्ड : "युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी"

 

                   काठमाडौं, जेठ १४ ।  पीएसजीले फ्रेन्च लिग वानको उपाधि जित्दा लियोनल मेस्सीले २ कीर्तिमान बनाएका छन्।

‘फ्रेन्च लिग वान’ को उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ। गए राति सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ को बराबरी खेलेको पीएसजीले १ खेल बाँकी छँदै अंकको आधारमा ११ औं पटक लिग वानको उपाधि जितेको हो।

पीएसजीको जितमा अर्जेन्टिनी ‘स्टार’ खेलाडी लियोनल मेस्सीले गोल गरे। खेलको ५९ औं मिनेटमा किलियन एमबाप्पेको असिस्टमा मेस्सीले गोल गरेका हुन्। पीएसजीका लागि मेस्सीको यो ३२ औं गोल हो। पीएसजीले उनीसँगको सम्झौता नवीकरण नगर्ने भनिरहँदा पीएसजीका लागि मेस्सीको यो अन्तिम गोल समेत हुने सम्भावना छ।

उपाधिसँगै मेस्सीले सोही खेलमा आफ्नो नाममा २ वटा दुर्लभ कीर्तिमान समेत बनाएका छन्। गए रातिको गोलसँगै मेस्सी युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोले ६२६ खेलमा ४९५ गोल गरेका थिए। मेस्सीले ५७४ खेलमा ४९६ गोल गरेका हुन्।

यस्तै मेस्सी क्लब र राष्ट्रका लागि ४३ उपाधि जित्दै सर्वाधिक उपाधि जित्ने खेलाडी पनि बनेका छन्। ब्राजिलियन फूटबलर ड्यानी अल्भेससँग उनले यो कीर्तिमान बराबरी गरेका हुन्।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update