Kath khabar
कोशी प्रदेश प्रकरण : निषेधाज्ञाको अवज्ञा गर्दै  प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ  

 

                 विराटनगर, जेठ १४ ।  कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोशी प्रदेशमा आज देखि बजेट अधिवेशन शुरु हुँदैछ । दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दैछ ।

बैठक अघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश-१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजे देखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागू गरेको छ ।  

निषेधाज्ञा तोडेर प्रदर्शन गर्नेहरुलाई पक्राउ गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताउनुभयो । उहाँका अनुसार निषेधित क्षेत्रमा सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update