Kath khabar
टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राख्ने युवतीलाई ५ वर्ष जेल

 

                 बाली, जेठ  २६ ।  टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई ५ वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको भिडिओ राखेपछि उनी विरुद्ध ईश्वरनिन्दाको मुद्दा लागेको छ ।

गत मार्च ९ का दिन मुखर्जीले टिकटकमा एउटा भिडिओ क्लिप अपलोड गरेकी थिइन् । भिडिओमा उनका अगाडि एउटा प्लेट देखिन्छ जसमा भात, तरकारी र सुँगुरको छाला राखिएको छ । मुखर्जी मुस्लिम समुदायकी भएकाले उनको धर्ममा सुँगुरको मासु खानु पूर्ण रूपमा प्रतिबन्ध छ ।

“बिस्मिल्लाह, मलाई लाग्छ मैले सुँगुरको मासु खाएँ भने मलाई मेरो परिवारबाट हटाइनेछ,” उनले क्यामेरातर्फ हाँस्दै भनेकी छिन्, “किनकि म आज सुँगुरको छाला चाख्न गइरहेकी छु ।” अपलोड भएको एक हप्तामै उनको भिडिओमा १ करोड ३४ लाख भ्युज आएको थियो, भने कमेन्टमा अधिकांशले उनलाई गाली गरेका छन् ।

भिडिओ भाइरल भएपछि देशको शीर्ष मुस्लिम धर्मगुरु निकायले मुखर्जी विरुद्ध इस्लामिक कानूनको निर्णय फत्वा (बतधब) जारी गरेको छ । इस्लामिक धर्ममा फत्वा भन्नाले एक योग्य विद्वानद्वारा जारी गरेको कानूनी राय वा निर्णयलाई बुझाउँछ । फत्वामा ‘इन्डोनेसियन उलेमा काउन्सिल’ले क्लिपलाई निन्दनीय घटनाको रुपमा स्वीकार गरेको भनेर उल्लेख गरिएको छ ।

रेस्ट अफ दी वर्ल्डका अनुसार मार्च १५ मा धार्मिक अधिकारको बलियो प्रतिनिधित्व भएको सहर दक्षिण सुमात्राका एक मुस्लिम धर्मगुरुले पालेम्बाङको प्रहरी कार्यालयमा ती इन्डोनेसियन विरुद्ध उजुरी दिएका थिए । उनले इन्डोनेसियाको ईश्वरनिन्दा र द्वेषपूर्ण अभिव्यक्ति कानूनअन्तर्गत ५ वर्षको जेल सजाय भोग्नसक्ने त्यहाँका कानून विज्ञले रेस्ट अफ दि वर्ल्डलाई भनेका छन् ।

हुनत इन्डोनेसिया धर्म निरपेक्ष राष्ट्र भएपनि मुस्लिम समुदायको बहुमत छ । इन्डोनेसियाको ईश्वरनिन्दा कानूनलाई मानव अधिकारवादीले आलोचना समेत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update