Kath khabar
अब मजदुरीका लागि साउदी अरब जान पनि एसइई पास हुनुपर्ने

 

                  काठमाडौं, जेठ २८ ।  नेपाली श्रमिकहरूलाई अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने भएको छ। यस्तो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्ने छ। त्यसपछि फेरि साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको हो।

यी निकायबाट प्रमाणीकरण हुने शैक्षिक प्रमाणपत्र न्यूनतम एसइई र एसएलसीको हो।  योभन्दा तल्लो तहको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिँदैन। यसकारण अब मजदुरी (लेबर) लगायत जुनसुकै कामका लागि साउदी जाने श्रमिकले न्यूनतम एसइई र एसएलसी सम्मको अध्ययन पूरा गरेको हुनुपर्ने भएको हो।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले साउदीको यो व्यवस्थाअनुसार श्रमिक पठाउन नसक्ने बताए।

'यसमा हाम्रो आपत्ति छ। किनभने मानौं यहाँबाट एक जना ड्राइभर साउदी जान्छ। ऊसँग ड्राइभिङ लाइसेन्स हुन्छ तर एसएलसी पास नगरेको पनि हुनसक्छ,' उनले भने, 'साउदीले बरू सीप परीक्षण गरेर लैजान सक्छ। तर यसरी प्रमाणपत्र हेरेर लैजान्छ' भन्न त पाइएन नि। मजदुरीका लागि जाने श्रमिकको शैक्षिक योग्यता तोकिनु गलत अभ्यास भएको उनले बताए। 

'हाम्रा एसइई, स्नातक, स्नातकोत्तर पढेका सबै मान्छे त साउदीमा मजदुरी गर्न जाँदैनन्। अझ साउदी जाने भनेको त अधिकांश, निर्माण, सरसफाइ, सुरक्षा गार्ड लगायत काममा हो। यो क्षेत्रमा काम गर्न सीप चाहिन्छ, शैक्षिक योग्यता होइन,' उनले थपे।

मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन। साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन। अंग्रेजी भाषा बोल्ने र बुझ्न सक्ने श्रमिक चाहिएकाले यस्तो व्यस्था गरिएको भन्ने अनौपचारिक रूपमा सुनेको भण्डारीले उल्लेख गरे।

'जे भए पनि यो व्यवस्था गलत छ। साउदीले के हिसाबले यो नीति ल्यायो ? दुःख दिने नियत हो कि केही बुझ्न सकिएको छैन,' उनले भने। उनका अनुसार साउदीले अन्य मुलुकमा पनि यस्तो व्यवस्था लागू गर्न प्रस्ताव गरेको छ। तर अरू देशले अस्वीकार गरिसकेको र नेपालले पनि यसको समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने भण्डारी बताउँछन्।

'हामीले परराष्ट्र र श्रम मन्त्रालयमा सहजीकरणका लागि आग्रह गरेका छौं। साउदी पक्षसँग छलफल गर्छौं भन्ने प्रतिक्रिया पाइएको छ,' उनले भने। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलले न्यूनतम एसइई र एसएलसी पास भएको शैक्षिक प्रमाणपत्र अनिवार्य हुनुपर्ने व्यवस्था साउदी सरकारले एकतर्फी रूपमा गरेको बताए।

'यस विषयमा साउदी र हामीबीच कुनै छलफल भएको छैन। यो व्यवस्था लागू गर्न व्यावहारिक पनि छैन,' उनले भने, साउदीमा नेपालीहरू ड्राइभिङ, निर्माण क्षेत्र, सरसफाइ जस्ता काममा धेरै पुग्छन्। उनीहरू सबैले एसएलसी र एसइईसम्म पनि पास गरेका हुँदैनन्।' यो विषयमा साउदी पक्षसँग छलफलका लागि मन्त्रालयले पत्राचार गरेको उनले बताए। 

'हामीले इमेल मार्फत् र परराष्ट्र मार्फत पनि पत्राचार भएको छ, हेरौं अब के प्रतिक्रिया आउँछ,' पोखरेलले भने। यो नीति अव्यावहारिक भएकाले नेपालका लागि साउदी राजदूतसँग पनि छलफल हुने उनले जानकारी दिए।

साउदी नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मध्ये एक हो। साउदीमा कामको खोजीमा ठूलो संख्यामा नेपाली श्रमिक पुग्ने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वर्ष मात्रै १ लाख ८० हजारभन्दा बढी नेपालीहरू श्रम स्वीकृति लिएर साउदी पुगेका छन्।

यो मुलुकसँग श्रम सम्झौता भने भएको छैन। नेपालले १० वर्षअघिदेखि नै श्रम सम्झौताका लागि पहल गरे पनि साउदीले चासो नदेखाउँदा सम्झौता हुन नसकेको हो। पछिल्लो समय भने साउदी केही सकारात्मक देखिएका कारण सम्झौताका लागि आवश्यक मस्यौदा २ देशबीच आदानप्रदान भएको श्रम मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update